अन्तर्राष्ट्रिय यात्राले खेलाडीको ‘गट जेट ल्याग’: खेल जित्न मैदान मात्र होइन, आन्द्राको स्वास्थ्य पनि मुख्य चुनौती
काठमाडौँ- अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा फरक ‘टाइम जोन’ (समय क्षेत्र) पार गरेर यात्रा गर्दा खेलाडीको खेल प्रदर्शनमा गिरावट आउनुमा केवल थकान र निद्राको कमी मात्र नभई आन्द्रामा रहने सूक्ष्मजीव (गट माइक्रोबायोटा) को असन्तुलन समेत प्रमुख कारण रहेको पाइएको छ। वैज्ञानिकहरूले यस अवस्थालाई ‘गट जेट ल्याग’को संज्ञा दिँदै, यसले खेलाडीको निद्रा, पाचन, ऊर्जा व्यवस्थापन, प्रतिरक्षा, मांसपेशी पुनःस्थापना, हर्मोन प्रणाली र मांसपेशीको ऊर्जा पुनःस्थापना र शारीरिक र मानसिक प्रदर्शनमा असर पार्न सक्ने खुलासा गरेका छन।
‘न्युट्रिएन्ट्स’ जर्नलमा प्रकाशित यो समीक्षा लाई 👉यहाँ क्लिक गरेर पढ्न सकिन्छ । यसमा लामो दूरीको यात्राका कारण हुने सर्काडियन असन्तुलन र आन्द्राको सूक्ष्मजीव समुदायमा आउने परिवर्तन बीचको सम्बन्ध विश्लेषण गरिएको हो। पोल्यान्डको व्रोक्ला मेडिकल युनिभर्सिटीका करोल बिलिन्स्की, कास्पर विस्निएव्स्की, लौरा राफ्नर, पावेल वित्को र डाग्मारा गावेउ डाब्रोव्स्काले समीक्षा गरेका हुन।
अनुसन्धानकर्ताहरूले यात्राका क्रममा जैविक घडी र आन्द्राका सूक्ष्मजीवको दैनिक लय बीचको समन्वय बिग्रिने अवस्थालाई ‘गट जेट ल्याग’ भनेका छन। यसले आन्द्राको अवरोधात्मक तहको कार्यक्षमता र सूक्ष्मजीवको सामान्य गतिविधिमा असर पार्न सक्ने समीक्षा बताउँछ।
जैविक घडी बिग्रिँदा के हुन्छ?
मानव शरीरको मुख्य जैविक घडी मस्तिष्कको हाइपोथालामसमा रहेको सुप्राकियास्म्याटिक न्युक्लियस (एससीएन) ले सञ्चालन गर्छ। यसले निद्रा र जागरण, हर्मोन उत्सर्जन तथा ऊर्जा व्यवस्थापन लगायतका प्रक्रियालाई स्थानीय समय सँग समायोजन गर्न भूमिका खेल्छ।
अचानक धेरै समय क्षेत्र पार गर्दा यो केन्द्रीय घडी र शरीरका अन्य अंगमा रहेका परिधीय जैविक घडीबीच असन्तुलन हुन्छ। परिणाम स्वरूप निद्रा बिग्रिने, दिनमा थकान हुने, सतर्कता र भोक घट्ने, पेट सम्बन्धी समस्या तथा शारीरिक र मानसिक प्रदर्शनमा कमी आउन सक्ने समीक्षा उल्लेख गर्छ।
समय क्षेत्र परिवर्तनले आन्द्राका सूक्ष्मजीवको आफ्नै दैनिक लय समेत प्रभावित गर्न सक्छ। आन्द्राका सूक्ष्मजीवले पोषण अवशोषण, प्रतिरक्षा र शरीरको चयापचयमा भूमिका खेल्ने भएकाले यसको असन्तुलनले खेलाडीको स्वास्थ्य र प्रदर्शनमा थप असर पार्न सक्छ ।
‘गट जेट ल्याग’ले मांसपेशीको ऊर्जामा पनि असर
यात्राका कारण आन्द्राको सूक्ष्मजीव समुदायमा आउने परिवर्तनले सर्ट चेन फ्याटी एसिड (एससीएफए) उत्पादन घटाउन सक्ने समीक्षा बताउँछ। एसिटेट, प्रोपियोनेट र ब्युटिरेट जस्ता एससीएफएले मांसपेशीमा ग्लुकोज उपयोग, बोसोको अक्सिडेसन र ग्लाइकोजन सञ्चय जस्ता प्रक्रियामा भूमिका खेल्छन।
त्यसैले आन्द्राको सूक्ष्मजीवमा आउने परिवर्तनले ऊर्जा व्यवस्थापन र मांसपेशी पुनःस्थापनामा असर पार्न सक्ने सम्भावना छ। यद्यपि अनुसन्धानकर्ताहरूले आन्द्राको सूक्ष्मजीव र खेल प्रदर्शन बीचको प्रत्यक्ष सम्बन्ध बारे मानवमा उपलब्ध प्रमाण अझै सीमित रहेको स्पष्ट गरेका छन। धेरै प्रमाण साना नमुना भएका अध्ययन तथा पशु अध्ययनबाट आएको समीक्षा हो।
पूर्व तर्फको यात्रा बढी चुनौतीपूर्ण
जेट ल्यागको प्रभाव यात्राको दिशा अनुसार फरक हुन सक्छ। मानिसको जैविक घडी २४ घण्टा भन्दा केही लामो हुने भएकाले पश्चिम तर्फ यात्रा गर्दा जैविक घडी पछाडि सार्न तुलनात्मक रूपमा सजिलो हुन्छ भने पूर्व तर्फ यात्रा गर्दा घडी अगाडि सार्नु पर्ने भएकाले अनुकूलन कठिन हुन्छ।
समीक्षामा उद्धृत अध्ययन अनुसार पूर्व तर्फ लामो दूरीको यात्रा गरेका ट्र्याक साइकल खेलाडीमा गन्तव्य पुगे पछिका करिब ४८ घण्टा सम्म ओछ्यानमा बिताउने समय, वास्तविक निद्रा अवधि र निद्राको प्रभावकारितामा कमी देखिएको थियो। आयरल्यान्डबाट ताइवान तर्फ यात्रा गरेका महिला र पुरुष फुटबल खेलाडीमा भने निद्रा र स्वास्थ्य सम्बन्धी अनुभूति पाँच दिन सम्म प्रभावित भएको पाइएको थियो।
व्यावसायिक खेलकुद सम्बन्धी अन्य अध्ययनलाई उद्धृत गर्दै समीक्षाले पूर्व तर्फको जेट ल्यागसँग एनबीए टोलीको जित प्रतिशतमा करिब ६ प्रतिशत सम्म कमी र अंक जोड्ने क्षमतामा गिरावट देखिएको जनाएको छ। करिब दुई समय क्षेत्र बराबरको जैविक असन्तुलन हुँदा जेट ल्यागमा रहेको टोलीले औसतमा ४ देखि ५ अंक कम जोडेको अध्ययनमा पाइएको थियो। मेजर लिग बेसबल सम्बन्धी अध्ययनमा पनि विशेष गरी पूर्वतर्फको यात्रा पछि घरेलु टोलीको आक्रामक प्रदर्शनमा गिरावट देखिएको थियो।
निद्रा मात्र होइन, प्रतिरक्षा र मेटाबोलिजममा पनि असर
सर्काडियन असन्तुलनले शरीरमा इन्सुलिन, ग्लुकोज, लेप्टिन र कोर्टिसोल जस्ता हर्मोनको सामान्य लयलाई प्रभावित गर्न सक्छ। यसले चयापचयमा अस्थायी तनाव सिर्जना गर्न सक्ने समीक्षा बताउँछ।
त्यस्तै, जैविक घडीको गडबडीले प्रतिरक्षा प्रणालीको गतिविधि र सूजन सम्बन्धी प्रक्रियामा समेत असर पार्न सक्छ। खेलाडीमा यसको अर्थ संक्रमणसँग जुध्ने क्षमता, प्रशिक्षण पछि पुनःस्थापना र समग्र शारीरिक तयारीमा असर पर्नु हुन सक्छ।
यात्राका क्रममा हुने डिहाइड्रेसन, मानसिक तनाव र प्रशोधित तथा फास्ट फुडको बढी सेवनले आन्द्राको स्वास्थ्यमा थप असर पार्न सक्छ। यात्राका कारण खानाको समय समेत स्थानीय समय अनुसार नमिल्ने हुँदा आन्द्राका परिधीय जैविक घडीमा थप असन्तुलन आउन सक्छ।
जैविक घडी मिलाउन प्रकाश र खानाको समय महत्वपूर्ण
समीक्षाले यात्रा पछि जैविक घडी र आन्द्राको स्वास्थ्य पुनःसमायोजन गर्न विभिन्न रणनीति सम्भावित उपायका रूपमा प्रस्तुत गरेको छ। यसमा समय अनुसार प्रकाशको प्रयोग, खानाको समय व्यवस्थापन, निद्राको स्वच्छता, पर्याप्त पानी तथा पोषण व्यवस्थापन प्रमुख छन।
गन्तव्य अनुसार निश्चित समयमा सूर्यको प्रकाश वा कृत्रिम उज्यालोको प्रयोगले मुख्य जैविक घडीलाई पुनःसमायोजन गर्न सहयोग गर्न सक्छ। बिहानको प्रकाशले जैविक घडी अगाडि सार्न र साँझ वा जैविक रातको प्रकाशले पछाडि सार्न प्रभाव पार्छ।
त्यस्तै, क्रोनो न्युट्रिसन अर्थात् स्थानीय समय अनुसार खानाको समय मिलाउने रणनीतिले कलेजो र पाचन प्रणालीमा रहेका परिधीय जैविक घडीलाई स्थानीय समय सँग समायोजन गर्न सहयोग गर्न सक्ने समीक्षा बताउँछ।
आन्द्राका लाभदायक सूक्ष्मजीवलाई सहयोग गर्न प्रोबायोटिक, प्रिबायोटिक वा सिनबायोटिक प्रयोगको सम्भावना समेत समीक्षा गरिएको छ। तर खेलाडीमा यस्ता उपायको प्रभावकारिता बारे प्रमाण अझै सीमित रहेकाले अनुसन्धानकर्ताहरूले यसलाई निश्चित उपचार वा सबै खेलाडीका लागि लागू हुने सिफारिसका रूपमा नभई व्यक्तिगत अवस्था अनुसार विचार गर्न सकिने प्रमाणमा आधारित रणनीतिका रूपमा प्रस्तुत गरेका छन।
समीक्षाको निष्कर्षमा अन्तर्राष्ट्रिय खेलकुदमा खेलाडीको तयारीलाई केवल प्रशिक्षण र खेल रणनीतिमा सीमित नगरी सर्काडियन स्वास्थ्य, निद्रा, खानाको समय, हाइड्रेसन र आन्द्राको स्वास्थ्यलाई समेत समेटेर व्यक्तिगत योजना बनाउनु पर्नेमा जोड दिइएको छ।
अनुसन्धानकर्ताहरूले भने यस क्षेत्रमा अझै ठूला र दीर्घकालीन मानव अध्ययन आवश्यक रहेको बताएका छन। विशेषगरी आन्द्राका सूक्ष्मजीवमा आउने परिवर्तनले वास्तविक खेल प्रदर्शनमा कति प्रत्यक्ष प्रभाव पार्छ भन्ने विषय स्पष्ट गर्न थप अनुसन्धान आवश्यक रहेको समीक्षा हो।

प्रतिक्रिया दिनुहोस