श्रीमानको घर बाहिर बस्ने र जागिरे महिलामा किन देखियो बढी मानसिक समस्या? यस्तो छ अध्ययन प्रतिवेदन
काठमाडौं- दक्षिणी नेपालको चन्द्रपुर नगरपालिकाका विवाहित महिला मध्ये प्रत्येक तीन जनामा एक जना डिप्रेसन (अवसाद) को सिकार भएको पाइएको छ। प्रतिष्ठित चिकित्सा जर्नल बीएमजे ओपनमा प्रकाशित एक नयाँ अध्ययनले यहाँका विवाहित महिलाहरूमा तनाव, छटपटी र डिप्रेसनको जोखिम उच्च देखाएको हो। काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालका अनुसन्धानकर्ता हरूले गरेको यस अध्ययनले संयुक्त परिवारमा बस्ने महिलाको तुलनामा जागिरे र श्रीमानको घरभन्दा बाहिर बस्ने विवाहित महिलामा मानसिक स्वास्थ्य समस्या बढी रहेको सनसनीपूर्ण तथ्य उजागर गरेको छ ।
अध्ययन अनुसार रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका विवाहित महिला मध्ये ३१.१ प्रतिशतमा डिप्रेसन (अवसाद), २८.८ प्रतिशतमा तनाव (स्ट्रेस) र १६.७ प्रतिशतमा चिन्ता (एन्जाइटी) का लक्षण भेटिएका छन। प्रतिष्ठित चिकित्सा जर्नल बीएमजे ओपनमा यो अध्ययन प्रकाशित भएको छ, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
यो अध्ययन सन २०२२ को जुन देखि अगस्ट सम्म चन्द्रपुर नगरपालिकामा गरिएको थियो। घरेलु सर्वेक्षणमा ५४५ विवाहित महिला सहभागी थिए। उनीहरूको मानसिक स्वास्थ्यको मूल्याङ्कनका लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त डिप्रेसन, एन्जाइटी एन्ड स्ट्रेस स्केल (अवसाद, चिन्ता तथा तनाव मापन स्केल, डिएएसएस -२१) प्रयोग गरिएको थियो।
अध्ययन काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, धुलिखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ताहरूले गरेका हुन। अध्ययनको नेतृत्व उर्जा रेग्मीले गरेकी छन। सहअनुसन्धानकर्तामा युनिका आचार्य, प्रतीक्षा पौडेल, पूनम सुवेदी, बन्दना पनेरु, अर्चना श्रेष्ठ, बिराजमान कर्माचार्य र श्रृंखला श्रेष्ठ रहेका छन।
अध्ययनले महिलाको सामाजिक, पारिवारिक तथा आर्थिक अवस्थाले मानसिक स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्ने देखाएको छ। जनजाति, दलित तथा तराई समुदायका महिलामा ब्राह्मण/क्षेत्री महिलाको तुलनामा तनावको स्तर बढी पाइएको छ।
त्यस्तै, श्रीमानको घर भन्दा बाहिर (माइती वा अन्यत्र) बस्ने महिलामा तनाव र चिन्ताका लक्षण उल्लेखनीय रूपमा बढी देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यस्तो अवस्था पारिवारिक विछोड, सामाजिक एक्लोपन वा असुरक्षा सँग सम्बन्धित हुन सक्छ।
अध्ययनले गृहिणीको तुलनामा जागिर वा अन्य पेसामा संलग्न महिलामा पनि तनाव र चिन्ताको स्तर बढी रहेको देखाएको छ। कामसँगै घरायसी जिम्मेवारी समेत वहन गर्नुपर्ने दोहोरो बोझ यसको एउटा सम्भावित कारण हुन सक्ने अध्ययनले संकेत गरेको छ।
यस्तै, संयुक्त परिवारमा बस्ने महिलामा डिप्रेशनको लक्षण एकल परिवारमा बस्ने महिलाको तुलनामा कम पाइएको छ। संयुक्त परिवारबाट प्राप्त हुने सामाजिक तथा भावनात्मक सहयोगले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने अध्ययनले औंल्याएको छ।
अर्को तर्फ, गैरहिन्दू धर्मावलम्बी महिलामा हिन्दू महिलाको तुलनामा तनाव र अवसादका लक्षण कम देखिएका छन ।
यद्यपि उमेर, विवाह भएको उमेर र श्रीमान वैदेशिक रोजगारीमा रहेको अवस्था भने तनाव, चिन्ता वा अवसाद सँग उल्लेखनीय रूपमा सम्बन्धित नभएको अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा विवाहित महिलाको मानसिक स्वास्थ्यबारे भएका अध्ययन सीमित छन । त्यसैले यो अध्ययनले महिलाको मानसिक स्वास्थ्यमा सामाजिक, आर्थिक र पारिवारिक अवस्थाले पार्ने प्रभावबारे महत्वपूर्ण प्रमाण उपलब्ध गराएको छ।
अध्ययनले चन्द्रपुर नगरपालिकाका विवाहित महिलामा मानसिक स्वास्थ्य समस्या उल्लेखनीय रहेको निष्कर्ष निकाल्दै नीति निर्माता र स्वास्थ्यकर्मीहरूले स्थानीय तहबाटै मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाको पहुँच विस्तार गर्नुपर्ने सुझाव दिएको छ। साथै महिलाले काम र पारिवारिक जिम्मेवारी बीच सन्तुलन कायम गर्न सक्ने वातावरण निर्माण गर्न पनि अध्ययनले जोड दिएको छ।
अनुसन्धानकर्ताहरूले अध्ययनको सीमा पनि औंल्याएका छन। उनीहरूका अनुसार यो क्रस सेक्सनल अध्ययन भएकाले कारण र परिणाम बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकिँदैन। साथै नेपाली समाजमा मानसिक स्वास्थ्यलाई अझै संवेदनशील विषय मानिने भएकाले केही सहभागीले आफ्ना समस्या खुलाएर नबताएको हुन सक्ने सम्भावना पनि रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस