अन्तर्राष्ट्रिय योग दिवस
लामो आयु मात्र होइन, उमेरसँगै उर्जा थप्न कसरी सहयोगी बन्दैछ योग? डब्ल्युएचओको नयाँ सन्देश
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्व एशियाली क्षेत्रकी कार्यवाहक निर्देशक डा. क्याथरिना बोह्मेले स्वस्थ बुढ्यौलीका लागि योगलाई जीवन भर अपनाउन सकिने महत्वपूर्ण अभ्यासका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन।
अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन) २०२६ का अवसरमा जारी सन्देशमा उनले योग जीवनको कुनै एक चरणमा सीमित अभ्यास नभई उमेर, आवश्यकता र क्षमता अनुसार रूपान्तरण गर्दै जीवनभर अपनाउन सकिने स्वास्थ्य स्रोत भएको बताइन्। यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस ‘स्वस्थ बुढ्यौलीका लागि योग’ (योग फर हेल्दी एजिङ) भन्ने नारा सहित मनाइँदैछ।
उनका अनुसार योग संसार कै सबै भन्दा पुराना र दीर्घकाल सम्म अभ्यास हुँदै आएका स्वास्थ्य तथा कल्याण सम्बन्धी अभ्यास मध्ये एक हो। यसले शारीरिक गतिविधि, श्वास नियन्त्रण, सचेतता र ध्यानलाई एकीकृत गर्दै शारीरिक क्षमता, मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग गर्छ।
दक्षिण पूर्व एशियाली क्षेत्रमा ज्येष्ठ नागरिकहरूको जनसंख्या तीव्र रूपमा बढिरहेका बेला स्वस्थ बुढ्यौलीका लागि कम खर्चिलो, विस्तार गर्न सकिने र स्थानीय सांस्कृतिक सन्दर्भसँग मेल खाने कार्यक्रमहरूमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको डा. बोह्मेले औंल्याएकी छन ।
उनका अनुसार योगले ज्येष्ठ नागरिकहरूको हिँडडुल क्षमता सुधार गर्ने, मस्तिष्कीय तथा संज्ञानात्मक स्वास्थ्य जोगाउने र सामुदायिक सहभागिता मार्फत सामाजिक एक्लोपन कम गर्न मद्दत गर्छ। ‘दीर्घायु भनेको जीवनमा वर्ष थप्नु मात्र होइन, ती वर्षहरूलाई थप जीवन्त र गुणस्तरीय बनाउनु पनि हो,’ सन्देशमा उल्लेख छ।
योगलाई विभिन्न स्वास्थ्य अवस्था र शारीरिक क्षमताअनुसार अनुकूल बनाउन सकिने भएकाले यसले धेरै ज्येष्ठ नागरिकलाई शारीरिक तथा भावनात्मक स्वास्थ्य कायम राख्न सहज माध्यम उपलब्ध गराउने डा. बोह्मेको भनाइ छ। यसले डब्लुएचओको स्वस्थ बुढ्यौली दशक (२०२१–२०३०) अन्तर्गत आत्मनिर्भरता प्रवर्द्धन, लडेर हुने जोखिम घटाउने, जीवनस्तर सुधार गर्ने र व्यक्ति केन्द्रित स्वास्थ्य प्रवर्द्धनका लक्ष्यलाई समेत सहयोग गर्ने उल्लेख गरिएको छ।
सन्देशमा डब्लुएचओको ग्लोबल एक्सन प्लान अन फिजिकल एक्टिभिटी २०१८–२०३० तथा ग्लोबल ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०२५–२०३४ लाई पनि उल्लेख गरिएको छ। यी नीतिहरूले योग जस्ता प्रमाणमा आधारित परम्परागत अभ्यासलाई सुरक्षित र व्यवस्थित रूपमा स्वास्थ्य प्रणालीमा समेट्न मार्गदर्शन गर्ने बताइएको छ।
डा. बोह्मेले स्वस्थ बुढ्यौली स्वास्थ्य प्रणालीले मात्र तय नगर्ने उल्लेख गर्दै दैनिक जीवनमा गरिने निर्णयहरू पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्। उनले हरेक उमेर समूहका मानिसलाई सुरक्षित, नियमित र आफ्नो आवश्यकता अनुसार योग अभ्यास गरेर आफ्नै स्वास्थ्य र ऊर्जामा लगानी गर्न आग्रह गरेकी छन।
भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघ महासभाले सन २०१४ मा १७५ सदस्य राष्ट्रहरूको समर्थन सहित जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। वर्षकै सबै भन्दा लामो दिन मानिने ग्रीष्म अयनान्तसँग जोडिएको प्रकाश, सन्तुलन र दीर्घायुको प्रतीकात्मक महत्वका कारण यो मिति चयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस