एम्सको नयाँ अध्ययन: अब दिसाको एउटै साधारण परीक्षण बाटै ‘क्रोनिक डायरिया’ को सही पहिचान सम्भव
काठमाडौँ- महिनौँ सम्म निको नहुने पखाला (क्रोनिक डायरिया) बाट पीडित बिरामीहरूका लागि राहतको खबर छ। अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का अनुसन्धानकर्ताहरूले गरेको एक पछिल्लो अध्ययनले अब दिसाको एउटै साधारण परीक्षण बाटै यस्तो समस्याको मुख्य कारण पत्ता लगाउन सकिने निष्कर्ष निकालेको छ।
‘इन्डियन जर्नल अफ ग्यास्ट्रोएन्टेरोलोजी’ मा यो अध्ययन प्रकाशित भएको छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। यस अध्ययनको नेतृत्व एम्सका डा. गोविन्द के. मखारियाले गरेका थिए । अध्ययन टोलीमा शुभम मेहता, समग्र अग्रवाल, आदित्य विक्रम पचिसिया र विकास सचदेव संलग्न थिए।
के हो ‘बाइल एसिड मालएब्जॉर्प्शन’?
यो एक पाचन प्रक्रियासँग सम्बन्धित विकार हो, जुन पुरानो पखालाको एक आम तर प्रायः ओझेलमा पर्ने कारण मानिन्छ। कलेजोमा बन्ने ‘बायल एसिड’ आन्द्रामा राम्ररी सोसिएन भने यसले ठूलो आन्द्रामा पानीको मात्रा बढाइदिन्छ, जसले गर्दा बिरामीलाई बारम्बार पखाला लाग्ने गर्छ। अहिले सम्म यसको पहिचानका लागि गरिने सेहक्याट (SeHCAT) जस्ता परीक्षणहरू निकै जटिल र सबै तिर उपलब्ध थिएनन।
नयाँ परीक्षण विधि र शुद्धता
एम्सको यस अनुसन्धान मा ‘इन्जाइम आधारित स्पेक्ट्रोफोटोमेट्री’ प्रविधि प्रयोग गरी दिसाको एउटै नमुनामा बायल एसिड (एफबिए) को मात्रा मापन गरिएको थियो। अध्ययनका मुख्य निष्कर्षहरू यस प्रकार छन ।
- सटीक पहिचान: यदि दिसामा बायल एसिडको स्तर २.८ माइक्रोग्राम प्रति ग्राम वा सो भन्दा बढी देखिएमा यस समस्याको पहिचान निकै सटीक रूपमा गर्न सकिन्छ।
- उच्च संवेदनशीलता: यो परीक्षणको संवेदनशीलता ८९.५ प्रतिशत र विशिष्टता ९२ प्रतिशत पाइएको छ।
- प्रभावकारिता: अनुसन्धानले यस विधिलाई भविष्यमा ठूलो स्तरमा अपनाउन सकिने देखाएको छ।
कुन बिरामीमा कस्तो देखियो नतिजा?
अध्ययनले विभिन्न शारीरिक अवस्था भएका बिरामीहरूमा परीक्षण गर्दा निम्न तथ्याङ्क फेला पारेको छ ।
- आइबिएस र फङ्सनल डायरिया: दिसा गडबडी हुने ‘इरिटेबल बोवेल सिन्ड्रोम’ का करिब २१ प्रतिशत बिरामीमा यो समस्या पाइयो।
- पित्तथैलीको शल्यक्रिया: पित्तथैली (गलब्लाडर) निकालेका ५७ प्रतिशत बिरामीमा ‘बायल एसिड’ को समस्या देखियो।
- आन्द्राको क्षयरोग: आन्द्राको टीबी भएका ५४.५ प्रतिशत बिरामीमा पनि यो विकार पुष्टि भएको छ।
लामो समयदेखि पखालाको समस्या झेल्दै आएका तर कारण पत्ता नलागेका बिरामीका लागि यो सस्तो र सरल परीक्षण विधि कोशेढुङ्गा सावित हुन सक्छ। यसले गर्दा बिरामीले अनावश्यक एन्टिबायोटिक सेवन गर्नुको साटो समस्याको वास्तविक जड पत्ता लगाई सही उपचार पाउन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस