के चिकित्सकले लगाउने लुगाले तपाईंको उपचारमा फरक पार्छ? रोचक खुलासा
काठमाडौं – अस्पतालको वातावरणमा चिकित्सकले लगाउने लुगा केवल व्यक्तिगत छनोट वा अनुशासनको विषय मात्र नभएर बिरामीको मनोवैज्ञानिक अवस्था र उपचार प्रतिको विश्वास सँग गहिरो रूपमा जोडिएको पाइएको छ।
‘बीएमजे ओपन’ मा यो अध्ययन समीक्षा प्रकाशित छ जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। उक्त विस्तृत प्रणालीगत समीक्षाले चिकित्सकको पोसाकले बिरामी र चिकित्सक बीचको सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्ने देखाएको हो।
सन २०१५ देखि २०२५ सम्मका विभिन्न २८ वटा अध्ययनहरूलाई विश्लेषण गरी तयार पारिएको यो प्रतिवेदनले आधुनिक चिकित्सा पद्धतिमा ‘ड्रेस कोड’ को महत्त्वलाई नयाँ ढङ्गले परिभाषित गरेको छ।
सन्दर्भ र वातावरण अनुसारको प्राथमिकता
अध्ययनका अनुसार बिरामीहरूले चिकित्सकको पोसाकलाई उनीहरू उपचार गराइ रहेको स्थान र परिस्थितिको आधारमा मूल्याङ्कन गर्ने गर्छन। प्राथमिक स्वास्थ्य सेवा वा ओपिडी (आउटपेशेन्ट डीपार्टमेन्ट) जस्ता सामान्य जाँच हुने ठाउँमा बिरामीहरूले चिकित्सकले सेतो कोट (वाइट कोट) सँगै केही हदसम्म अनौपचारिक वा ‘क्याजुअल’ लुगा लगाएको मन पराउने गरेको पाइएको छ। यस्तो पोसाकले चिकित्सक लाई झन् नजिक ल्याउने र सञ्चार गर्न सहज वातावरण बनाउने बिरामीहरूको बुझाइ छ।
यसको विपरीत, आकस्मिक कक्ष (इमरजेन्सी), सघन उपचार कक्ष (आइसीयू) वा शल्यक्रिया थिएटर जस्ता संवेदनशील र गम्भीर स्थानहरूमा भने बिरामीहरूको प्राथमिकता पूर्ण रूपमा फरक छ। यस्ता ठाउँमा ‘स्क्रब्स’ लगाएका चिकित्सकहरूलाई बिरामीले बढी भरपर्दो, व्यावसायिक र जुनसुकै अवस्थाका लागि तयार रहेको रूपमा लिने गरेको अध्ययनले देखाएको छ।
कोभिड-१९ को प्रभाव र बदलिँदो दृष्टिकोण
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीले चिकित्सकको पोसाक प्रतिको धारणामा उल्लेख्य परिवर्तन ल्याएको छ। महामारीको समयमा र त्यस पछि पनि बिरामीहरूले संक्रमण नियन्त्रण र व्यक्तिगत सरसफाइलाई उच्च प्राथमिकता दिन थालेका छन।अध्ययनका अनुसार, पीपीई र स्क्रब्सको प्रयोगले बिरामीहरूमा सुरक्षाको अनुभूति गराउनुका साथै अस्पतालको सरसफाइ प्रति थप आश्वस्त बनाउने गरेको छ। यसले गर्दा पछिल्लो समय बिरामीहरूले पारम्परिक औपचारिक पोसाक भन्दा स्वास्थ्य सुरक्षाका दृष्टिकोणले सुरक्षित मानिने पहिरनलाई बढी रुचाउन थालेका छन।
लैङ्गिक भिन्नता र पहिचानको चुनौती
अध्ययनले एउटा गम्भीर सामाजिक पक्षलाई पनि उजागर गरेको छ, जुन चिकित्सकको लैङ्गिकतासँग जोडिएको छ। पुरुष चिकित्सक हरूले औपचारिक लुगा र सेतो कोट लगाउँदा उनीहरूलाई समाजले सहजै ‘डाक्टर’ को रूपमा स्वीकार गर्ने र उच्च व्यावसायिक मान्ने गरेको पाइयो। तर, सोही पोसाक लगाएका महिला चिकित्सक हरूको हकमा भने बिरामीहरू कतिपय अवस्थामा झुक्किने गरेको देखिएको छ। महिला चिकित्सकहरूलाई प्रायः नर्स वा स्वास्थ्य सहायकका रूपमा बुझ्ने गरिएकाले उनीहरूको व्यावसायिक पहिचान स्थापित गर्न पोसाक नीतिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ।
विशेषज्ञताका आधारमा फरक माग
कुन विभागको चिकित्सकले कस्तो लुगा लगाउने भन्ने कुरामा पनि बिरामीहरूको आफ्नै स्पष्ट धारणा रहेको पाइएको छ। उदाहरणका लागि, छालारोग (डर्माटोलोजी), न्युरो सर्जरी र आँखा रोग विशेषज्ञहरूले सेतो कोट लगाउँदा बिरामीहरूले बढी विश्वास गरेको देखिन्छ। अर्कोतर्फ, एनेस्थेसियोलोजी र ग्यास्ट्रोइन्टेरोलोजी जस्ता प्राविधिक र प्रक्रियागत विधाहरूमा संलग्न चिकित्सकहरूले स्क्रब्स लगाउनुलाई नै बढी उपयुक्त मानिएको छ। यसले के स्पष्ट पार्छ भने एउटै अस्पताल भित्र पनि विभाग अनुसार फरक फरक ड्रेस कोड हुनु बिरामीको सन्तुष्टिका लागि फलदायी हुन सक्छ।
यस अध्ययन ले चिकित्सकको पोसाकले बिरामीको विश्वास, सञ्चार र समग्र उपचार अनुभवमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। स्वास्थ्य संस्थाहरूले अब एउटै कडा नियम लाद्नु भन्दा पनि क्लिनिकल वातावरण, विभागको प्रकृति र बिरामीको अपेक्षा अनुरूप लचिलो पोसाक नीति अपनाउनु पर्ने देखिन्छ। यद्यपि, यो अध्ययनका धेरै जसो तथ्याङ्कहरू पश्चिमा देशहरूबाट लिइएकाले नेपाल जस्ता फरक सांस्कृतिक परिवेश भएका देशहरूमा यसको सान्दर्भिकता बुझ्न थप स्थानीय अनुसन्धानको आवश्यकता रहेको छ।

प्रतिक्रिया दिनुहोस