बल्झिरहने छालाको संक्रमण(दाद)को उपचार अब मलमले मात्र पुग्दैन, मानसिक परामर्श पनि अनिवार्य


काठमाडौँ- पछिल्लो समय भारत लगायत दक्षिण एसियाली मुलुकहरूमा ‘सुपरफिसियल डर्माटोफाइटोसिस’ अर्थात सामान्य भाषामा दाद वा छालाको ढुसीजन्य संक्रमण टाउको दुखाइको विषय बनिरहेको छ। हालै गरिएको एक अध्ययनले यो समस्या शारीरिक मात्र नभई मानसिक स्वास्थ्य र जीवनस्तर सँग पनि गहिरो रूपमा जोडिएको देखाएको छ।

जर्नल ‘कन्सोर्टियम साइकियाट्रिकम’ मा यो अध्ययन प्रकाशित छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अध्ययन अनुसार, जसलाई पटक पटक दाद बल्झिने (क्रोनिक एन्ड रिकरेन्ट डर्माटोफाइटोसिस-सीआरडी) समस्या छ, उनीहरूमा पहिलो पटक संक्रमण भएका बिरामीको तुलनामा एन्जाइटी (अस्वाभाविक चिन्ता) र मानसिक तनाव बढी देखिएको छ।

के भन्छ अध्ययनले?

छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश राज्यको लखनउ स्थित ‘डा. राम मनोहर लोहिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ मा १६६ जना बिरामी माझ यो अनुसन्धान गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले बिरामीहरूलाई पुराना र नयाँ गरी दुई समूहमा बाँडेका थिए । पुराना बिरामी अन्तर्गत जसलाई ६ महिना भन्दा बढी समय देखि संक्रमण छ वा उपचारपछि पनि ६ साता भित्रै रोग बल्झिएको छ। यस्तै नयाँ बिरामी,  जो पहिलो पटक यो संक्रमण लिएर अस्पताल पुगेका थिए।

मुख्य निष्कर्षहरू

  • जीवनस्तरमा गिरावट: पुराना बिरामीहरूको दैनिक क्रियाकलाप र सामाजिक जीवनमा गम्भीर असर परेको पाइएको छ। विशेष गरी ‘लक्षण र अनुभूति’ (सिम्प्टम्स एन्ड फिलिङ्स) तथा ‘दैनिक कार्यहरू’ (डेली एक्टिभिटिज) को क्षेत्रमा उनीहरूको अवस्था निकै कमजोर देखियो।
  • एन्जाइटीको उच्च जोखिम: अध्ययनले ‘हस्पिटल एन्जाइटी एन्ड डिप्रेसन स्केल’ (एचएडिएस -ए) को प्रयोग गर्दा पुराना बिरामीहरूमा चिन्ताको स्तर उल्लेखनीय रूपमा बढी पायो।
  • संक्रमणको क्षेत्र र मानसिक असर: शरीरको धेरै भागमा संक्रमण फैलिनु (बडी सर्फेस एरिया) र बढ्दो एन्जाइटीबीच प्रत्यक्ष सम्बन्ध रहेको देखियो।

किन यस्तो हुन्छ?

छालाको यो संक्रमणले अत्यधिक चिलाउने, दाग देखिने र सामाजिक रूपमा अप्ठ्यारो महसुस गराउने गर्छ। अध्ययनका अनुसार, लामो समय सम्म रोग निको नहुँदा बिरामीहरूमा मानसिक तनाव बढ्छ। यो तनावले शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) लाई झनै कमजोर बनाउँछ, जसका कारण संक्रमण निको हुन अझ कठिन हुन्छ। यो एउटा यस्तो दुष्चक्र हो जहाँ शारीरिक र मानसिक समस्या एक अर्कामा जेलिएका हुन्छन।

चिकित्सकहरूको सुझाव

अध्ययनले के निष्कर्ष निकालेको छ भने, दादको उपचार गर्दा अब केवल मलम वा औषधिले मात्र पुग्दैन। ‘पुरानो र बल्झि रहने दादका बिरामीहरूलाई निको पार्न छाला रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) र मानसिक रोग विशेषज्ञ (साइकियाट्रिस्ट) दुवैको समन्वय आवश्यक छ। बिरामीलाई औषधि सँगै उचित परामर्श (काउन्सेलिङ) दिनु जरुरी छ।’

अध्ययनले लुगा धुने तरिका, टाइट लुगा नलगाउने र सरसफाइमा ध्यान दिने जस्ता व्यवहारिक पक्षहरूले पनि यसमा भूमिका खेल्ने उल्लेख गरेको छ। यदि तपाईँलाई पनि पटक पटक छालाको संक्रमण बल्झिने समस्या छ भने, यसलाई सामान्य रूपमा नलिनुहोस र विशेषज्ञको सल्लाह लिनुहोस ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!