अनुसन्धान
स्वास्थ्यको शत्रु ‘नकारात्मक सम्बन्ध’: समय भन्दा अगावै वृद्ध बनाउँदैछ सामाजिक तनाव
काठमाडौँ – तपाईँको नजिकको घेरामा रहेका नकारात्मक सोच भएका र अनावश्यक दुःख दिने मानिसहरू केवल मानसिक तनावका कारक मात्र होइनन, उनीहरूले तपाईँलाई समय भन्दा अगावै बूढो समेत बनाइरहेका छन।
नयाँ अनुसन्धानले सामाजिक समूहमा रहेका यस्ता ‘ह्यासलर्स’ (दुःख दिने व्यक्ति) र तीव्र जैविक बुढ्यौली बीच प्रत्यक्ष सम्बन्ध रहेको खुलासा गरेको छ। यो अध्ययन हालै ‘प्रोसीडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस’ मा प्रकाशित भएको छ, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।
जीनको कार्यप्रणाली मै असर
न्युयोर्क विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सहितको टोलीले अमेरिकाको इन्डियानाका २,३४५ जना व्यक्तिको र्यालको नमुना विश्लेषण गरेको थियो। अध्ययनका क्रममा वैज्ञानिकहरूले ‘डिएनए मिथाइलेशन’ को जाँच गरेका थिए। यो एउटा यस्तो प्रक्रिया हो, जसले हाम्रो जीनको कार्य प्रणालीलाई नियन्त्रण गर्छ।
अनुसन्धानका अनुसार, नकारात्मक सामाजिक सम्बन्धले शरीरमा ‘क्रोनिक स्ट्रेस’ (दीर्घकालीन तनाव) पैदा गर्छ, जसले जीनको कार्यप्रणालीमा परिवर्तन ल्याई बुढ्यौलीको गतिलाई तीव्र बनाउँछ। असामान्य डिएनए मिथाइलेशनले क्यान्सर जस्ता गम्भीर रोगको जोखिम समेत बढाउने विज्ञहरूले बताएका छन।
को छन् बढी संवेदनशील?
अध्ययनले केही विशेष समूहका मानिसहरू यी नकारात्मक सम्बन्धका कारण बढी जोखिममा रहेको देखाएको छ। यसमा महिलाहरू, नियमित धूम्रपान गर्ने व्यक्तिहरू र बाल्यकालमा प्रतिकूल परिस्थितिको सामना गरेका कारण कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरू समावेश छन। यस्ता व्यक्तिहरूमा सामाजिक तनावको असर अन्यमा भन्दा छिटो र घातक रूपमा देखिने गरेको छ।
सकारात्मक सामाजिक घेरा अनिवार्य
विशेषज्ञहरूका अनुसार स्वस्थ र लामो आयुका लागि पौष्टिक खानपान र व्यायाम मात्र पर्याप्त छैन। शरीरलाई भित्रै देखि तन्दुरुस्त राख्न सकारात्मक सामाजिक दायरा हुनु अनिवार्य छ। अध्ययनले शरीरमा बढ्ने जलन (इन्फ्लेमेसन) कम गर्न र जीनलाई स्वस्थ राख्न हानिकारक सामाजिक सम्पर्कहरूबाट टाढा रहनुपर्ने सुझाव दिएको छ।
लामो आयु र स्वस्थ शरीरका लागि अब मानसिक शान्तिलाई प्राथमिकता दिनु र विषालु सम्बन्धहरूलाई (टक्सिक रिलेशनशिप्स) न्यूनीकरण गर्नु स्वास्थ्य विज्ञानको दृष्टिले अपरिहार्य देखिएको छ। तपाईँको वरपरका मानिसहरूले तपाईँको उमेर मात्र होइन, तपाईँको जीनको भविष्य समेत निर्धारण गरिरहेका छन।
अध्ययनका केही तथ्यहरू:
- ९ महिना बढी बुढ्यौली: तपाईँको सामाजिक घेरामा रहने प्रत्येक एक अतिरिक्त नकारात्मक व्यक्तिले बुढ्यौलीको गतिलाई १.५ प्रतिशतले बढाउँछ। तथ्याङ्क अनुसार, यस्ता एक व्यक्तिको उपस्थितिले तपाईँको शरीरका कोषिका र तन्तुहरूलाई वास्तविक उमेर भन्दा ९ महिना बढी बूढो बनाइदिन्छ।
- परिवारको भूमिका: यदि दुःख दिने व्यक्ति परिवारकै सदस्य भएमा बुढ्यौलीको यो प्रभाव अझ बढी गहिरो र हानिकारक हुने पाइएको छ।
- ३० प्रतिशत जोखिममा: अध्ययनमा सहभागी मध्ये करिब ३० प्रतिशतले आफ्नो नजिकको सम्बन्धमा कम्तीमा एक जना यस्तो नकारात्मक व्यक्ति रहेको स्वीकार गरेका छन।

प्रतिक्रिया दिनुहोस