निर्वाचन र युवाको मानसिक स्वास्थ्य: राजनीतिज्ञको खेल कि जनस्वास्थ्यको गम्भीर मुद्दा?
काठमाडौँ – नेपालमा हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन पछि सामाजिक सञ्जाल र चिया पसलहरूमा राजनीतिक बहस अझै सेलाएको छैन। नयाँ समीकरण, सोसल मिडियाका ‘भाइरल’ एजेन्डा र छिनछिनमा फेरिने राजनीतिक परिदृश्यले नेपाली युवाहरूलाई एकातिर उत्साहित बनाएको छ भने अर्कोतिर एक किसिमको अदृश्य मानसिक दबाब पनि सिर्जना गरेको छ।
नेपालको यो बदलिँदो राजनीतिक परिवेश र युवाहरूको मनोविज्ञान बीचको सम्बन्धलाई पुस्टि गर्ने एउटा महत्त्वपूर्ण अनुसन्धान हालै संयुक्त राज्य अमेरिकामा सार्वजनिक भएको छ।
प्रख्यात वैज्ञानिक जर्नल ‘साइकियाट्रिक रिसर्च’ मा सेप्टेम्बर २०२५ मा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। उक्त अध्ययनले निर्वाचन केवल सत्ता परिवर्तनको माध्यम मात्र नभई युवा पुस्ताको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने ‘स्ट्रेसर’ (तनावको कारक) भएको खुलासा गरेको छ।
अध्ययनको सार: किन डराउँछन् युवाहरू निर्वाचन सँग?
सन २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई आधार मानेर गरिएको यो अध्ययनले १८ देखि ३४ वर्ष उमेर समूहका युवाहरूमा एन्जायटी (चिन्ता) र डिप्रेसन (उदासी रोग) को जोखिम उच्च रहेको देखाएको छ। नेपाल जस्तो राजनीतिक रूपमा तरल देशका युवाहरूका लागि पनि यो अध्ययनका निष्कर्षहरू उत्तिकै सान्दर्भिक देखिन्छन।
अध्ययनले चुनावी तनावलाई तीन मुख्य भागमा वर्गीकरण गरेको छ:
- नतिजाको डर (एन्टिसिपेटरी स्ट्रेस): निर्वाचन अघि ‘को आउला?’, ‘मेरो भविष्य के होला?’ वा ‘देशको अवस्था कस्तो होला?’ भन्ने अनिश्चितताले युवाहरूलाई मानसिक रूपमा थकित बनाउने गरेको छ।
- समाचारको निरन्तर दबाब (न्युज रिलेटेड स्ट्रेस): अध्ययनले सबैभन्दा खतरनाक पक्ष ‘डिजिटल न्यूज’ लाई मानेको छ। छिनछिनमा आउने अपडेट, सामाजिक सञ्जालका आक्रामक बहस र भ्रामक सूचनाहरूले युवाहरूमा ‘इमोसनल एक्जस्टसन’ (भावनात्मक रिक्तता) पैदा गर्छ।
- निर्वाचन पछिको रिक्तता (रिजल्ट स्ट्रेस): आफूले चाहेको उम्मेदवारले नजित्दा वा राजनीतिक अस्थिरता बढ्दा युवाहरूमा असहायपनको भावना विकास हुने गरेको पाइएको छ।
नेपालको सन्दर्भ र ‘डिजिटल’ ध्रुवीकरण
नेपालमा हालै सम्पन्न निर्वाचनका क्रममा पनि टिकटक, फेसबुक र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा युवाहरूको अभूतपूर्व सक्रियता देखियो। तर, यो सक्रियता सँगै ‘साइबर बुलिङ’ र वैचारिक द्वन्द्व पनि उत्तिकै बढ्यो। अमेरिकी अध्ययनले देखाए अनुसार, जो युवाहरू डिजिटल माध्यममा बढी समय बिताउँछन्, उनीहरूमा ‘रुमिनेसन’ (एउटै नकारात्मक कुरा बारम्बार सोचिरहने समस्या) बढी देखिएको छ।
यो अध्ययनले स्पष्ट पारेको छ कि निर्वाचन अब केवल राजनीतिज्ञहरू को खेल मात्र रहेन, यो जनस्वास्थ्यको गम्भीर मुद्दा बनि सकेको छ। युवाहरू देशका मतदाता मात्र नभई भविष्यका निर्माता पनि हुन्। उनीहरूको मानसिक स्वास्थ्यमा पर्ने यस्तो असरले दीर्घकालीन रूपमा राष्ट्रको उत्पादकत्वमै असर पार्न सक्छ।
मनोवैज्ञानिकहरूका अनुसार, चुनावी समय र त्यसको लगत्तै पछि ‘डिजिटल डिटक्स’ (केही समयका लागि समाचार र सामाजिक सञ्जालबाट टाढा रहने), सत्य तथ्य मात्र ग्रहण गर्ने र राजनीतिक विचार भन्दा माथि उठेर सामाजिक सद्भाव कायम राख्नु नै यो मानसिक संकटबाट बच्ने उपाय हो।
नेपालमा पनि निर्वाचनपछि कतिपय युवाहरूमा राजनीतिक निराशा र भविष्य प्रति अन्योल देखिएको छ (नेपालहेल्थप्रेसले हालै गरेको नेपालका केही मनोचिकित्सकहरू सँगको संवाद अनुसार), जस लाई अमेरिकामा गरिएको यो अनुसन्धानले मानसिक स्वास्थ्यको जोखिमका रूपमा औंल्याएको छ।
तथ्याङ्कमा चुनावी असर
अनुसन्धानका केही प्रमुख र डरलाग्दा तथ्याङ्कहरू यस प्रकार छन
- २५ प्रतिशत सहभागी: अध्ययनमा संलग्न करिब एक-चौथाई युवाहरूमा डिप्रेसन र एन्जायटीका क्लिनिकल लक्षणहरू फेला परे।
- लैंगिक र अल्पसंख्यक प्रभाव: महिला र यौनिक अल्पसंख्यक युवाहरूमा राजनीतिक ध्रुवीकरणका कारण हुने तनावको मात्रा अन्यको तुलनामा बढी पाइयो
- विगतको घाउ: जो युवाहरू पहिले नै आर्थिक समस्या वा कोभिड-१९ को समयको मानसिक पीडाबाट गुज्रिएका थिए, उनीहरूलाई चुनावी तनावले झन् बढी थिचेको देखियो।

प्रतिक्रिया दिनुहोस