स्वास्थ्यकर्मीको मानसिक तनाव कम गर्न ‘ब्रिदिङ एक्सरसाइज’ को प्रभावकारिता परीक्षण सुरु


काठमाडौं – अस्पताल तथा क्लिनिकहरूमा कार्यरत चिकित्सक र नर्सहरूमा बढ्दो मानसिक तनाव र बर्नआउट कम गर्ने उद्देश्यले श्वास प्रश्वासमा आधारित एक नयाँ प्रविधिको परीक्षण सुरु गरिएको छ।

मेयो क्लिनिक हेल्थ सिस्टम ले सामुदायिक स्वास्थ्य केन्द्रहरूमा काम गर्ने स्वास्थ्यकर्मीहरूका लागि ‘स्ट्रक्चरल ब्रिदिङ’ भनिने व्यवस्थित श्वासप्रश्वास अभ्यासको प्रभावकारिता परीक्षण गर्न लागेको हो।

यो अध्ययनको कार्ययोजना ‘बीएमजे ओपन’ मा २७ फेब्रुअरी २०२६ मा प्रकाशित भएको छ जसलाई 👉 यहाँ क्लिक गरेर पढन सकिन्छ। अध्ययनको कार्ययोजना अनुसार चार महिना लामो यस परीक्षणमा चिकित्सक, फिजिसियन असिस्टेन्ट र नर्स गरी ४० जना सहभागी हुनेछन ।

अध्ययनमा उल्लेख गरिए अनुसार स्वास्थ्य क्षेत्रमा बढ्दो कार्यबोझका कारण निर्णय क्षमता कमजोर हुने, भावनात्मक थकान बढ्ने र बिरामी हेरचाहको गुणस्तरमा असर पर्ने समस्या देखिँदै आएको छ। सन २०२३ को उपलब्ध तथ्यांक अनुसार करिब ४५ प्रतिशत चिकित्सक अझै पनि बर्नआउटको समस्याबाट प्रभावित छन ।

वैज्ञानिकहरूका अनुसार लामो समय सम्मको तनावले मस्तिष्कको ‘प्रि फ्रन्टल कोर्टेक्स’ मा नकारात्मक असर पार्ने गर्दछ। यसले शान्त र विवेकपूर्ण निर्णयभन्दा छिटो प्रतिक्रिया दिने वा चिडचिडापन बढाउने प्रवृत्ति बढाउँछ।

परीक्षणमा सहभागी स्वास्थ्यकर्मीहरूले मोबाइल एप र अनलाइन सत्र मार्फत विशेष प्रकारको श्वास प्रश्वास अभ्यास गर्नेछन। सहभागीहरूले हप्तामा कम्तीमा एक पटक, सम्भव भए तीन पटक सम्म, १५ देखि ३६ मिनेट अभ्यास गर्नु पर्नेछ। अध्ययनका क्रममा मस्तिष्कमा अक्सिजनको प्रवाहमा आउने परिवर्तन मापन गर्न ‘फङ्सनल नियर इन्फ्रारेड स्पेक्ट्रोस्कोपी’  (एफ एनआईआरएस) प्रविधिको प्रयोग गरिनेछ।

अध्ययन प्रतिवेदनमा व्यवस्थित श्वासप्रश्वास अभ्यासले मस्तिष्कमा अक्सिजनको प्रवाह बढाउन र तनाव नियन्त्रणसँग सम्बन्धित स्नायु प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्ने उल्लेख गरिएको छ।

यो अध्ययन नोभेम्बर २०२५ देखि जुन २०२६ सम्म सञ्चालन हुनेछ।यसको मुख्य उद्देश्य यो प्रविधि स्वास्थ्यकर्मीहरूका लागि कत्तिको व्यवहारिक र स्वीकार्य छ भन्ने मूल्यांकन गर्नु रहेको छ। यो प्रारम्भिक चरणको (पाइलट) अध्ययन भएकाले सकारात्मक नतिजा आएमा यसलाई ठूलो स्तरमा विस्तार गर्ने योजना रहेको अध्ययन टोलीले जनाएको छ।

अध्ययनमा सहभागी हुने स्वास्थ्यकर्मीहरू लाई समय र सहभागिताको मूल्यांकन स्वरूप अधिकतम १२५ अमेरिकी डलर सम्मको पारिश्रमिक प्रदान गरिने व्यवस्था गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!