महिलाको मुटुको नशामा कम बोसो जम्दा पनि हृदयघातको जोखिम बढीः नयाँ अध्ययन
काठमाडौं- मुटुको नशामा जम्ने बोसो (कोलेस्ट्रोल वा प्लाक) को मात्रा पुरुषको तुलनामा कम भए पनि महिलाहरूमा हृदयघात र मुटु सम्बन्धी गम्भीर समस्याको जोखिम उच्च रहने एक पछिल्लो अनुसन्धानले देखाएको छ।
‘सर्कुलेसन: कार्डियोभास्कुलर इमेजिङ’ जर्नलमा उक्त अध्ययन प्रकाशित भएको हो, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अध्ययन प्रतिवेदनले महिला र पुरुषको मुटुको जोखिम मापन गर्ने विद्यमान तरिकामा पुनर्विचार गर्नुपर्ने औंल्याएको हो।
फेब्रुअरी २३ सन २०२६ मा सार्वजनिक गरिएको यस अध्ययनले ‘प्रोमिस’ ट्रायल अन्तर्गत ४,२६७ जना बिरामीको ‘कोरोनरी कम्प्युटेड टोमोग्राफी एन्जियोग्राफी’ (सीसीटिए) रिपोर्टको विस्तृत विश्लेषण गरेको थियो। अध्ययनमा सहभागीहरूको औसत उमेर ६० वर्ष रहेको थियो, जसमा करिब ५१ प्रतिशत महिला थिए।
जोखिमको मात्रामा ठूलो अन्तर
अध्ययनको निष्कर्ष अनुसार महिला र पुरुषको मुटुको नशामा जमेको बोसोको मात्रा (प्लाक बर्डन) ले निम्त्याउने जोखिमको स्तरमा स्पष्ट भिन्नता देखिएको छ। अनुसन्धानकर्ताहरूले फेला पारेका मुख्य तथ्यहरू यस प्रकार छन ।
- जोखिमको सुरुवात: महिलाहरूको मुटुको नशामा २० प्रतिशत मात्र बोसो जम्दा (प्लाक बर्डन) मृत्यु वा हृदयघातको जोखिम बढ्न सुरु हुन्छ। पुरुषहरूमा भने यही स्तरको जोखिम देखिन २८ प्रतिशत बोसो जमेको हुनुपर्ने देखिएको छ।
- तीव्र जोखिम: जब मुटुको नशामा बोसोको मात्रा ३२ प्रतिशत पुग्छ, महिलाहरूमा हृदयघातको सम्भावना १.५ गुणाले बढ्छ। तर, पुरुषहरूमा त्यति नै मात्राको जोखिम बढ्नका लागि नशामा ४२ प्रतिशत बोसो जमेको हुनुपर्ने अध्ययनले देखाएको छ।
- कम कडा बोसो (नन-क्याल्सिफाइड प्लाक): तुलनात्मक रूपमा बढी खतरनाक मानिने ‘नरम’ वा ‘कम कडा’ बोसोको हकमा पनि महिलाहरू निकै संवेदनशील पाइएका छन्। महिलामा ७ प्रतिशत यस्तो बोसो देखिँदा नै जोखिम सुरु हुन्छ, जबकि पुरुषमा ९ प्रतिशत पुगे पछि मात्र खतराको घण्टी बज्छ।
तथ्याङ्कीय तुलना र विश्लेषण
अनुसन्धानका क्रममा २६ महिना सम्म बिरामीहरूको फलो अप गरिएको थियो। यस अवधिमा मृत्यु, हृदयघात वा गम्भीर छाती दुखाइका कारण अस्पताल भर्ना भएका घटनाहरूलाई आधार मानिएको थियो।
अध्ययनले देखाए अनुसार पुरुषहरूको तुलनामा महिलाहरूको मुटुको नशामा बोसो जम्ने सम्भावना कम (५५ प्रतिशत) देखिए तापनि, जमेको थोरै बोसोले पनि उनीहरूलाई पुरुषको तुलनामा चाँडो र बढी असर गर्ने गरेको छ।
चिकित्सा क्षेत्रमा नयाँ बहस
यस अध्ययनले मुटुको रोगको पहिचान र उपचारमा ‘लिङ्ग-विशेष’ (सेक्स स्पेसिफिक) दृष्टिकोण अपनाउनु पर्ने खाँचो औंल्याएको छ। हाल सम्म मुटुको जाँच गर्दा महिला र पुरुष दुवैका लागि प्रायः एउटै मापदण्ड प्रयोग गर्ने गरिएको थियो।
अनुसन्धान टोलीका प्रमुख डा. जान एम. ब्रेन्डल र सहकर्मीहरूका अनुसार महिलाको मुटुको नशामा कम बोसो देखिँदैमा त्यसलाई ‘कम जोखिमपूर्ण’ मानेर बेवास्ता गर्नु घातक हुन सक्छ। रिपोर्टमा भनिएको छ, ‘महिलाहरूमा मुटुको जोखिम कमै मात्रामा बोसो जम्दा पनि तीव्र गतिमा बढ्ने देखिएकाले उनीहरूको उपचारमा समयमै हस्तक्षेप (अर्ली इन्टरभेन्सन) आवश्यक छ।’
यो अध्ययनले चिकित्सकहरूलाई महिला बिरामीको सिटी एन्जियोग्राफी रिपोर्ट व्याख्या गर्दा थप सतर्क रहन र थोरै प्लाक देखिए पनि त्यसलाई गम्भीरताका साथ लिन सुझाव दिएको छ।
बोसोका प्रकार र जोखिम (क्याल्सिफाइड भर्सेज नन-क्याल्सिफाइड)
मुटुको नशामा जम्ने बोसो (प्लाक) मुख्यतया दुई प्रकारका हुन्छन् र यिनको जोखिम पनि फरक-फरक हुन्छ ।
क्याल्सिफाइड प्लाक : यो बोसोको जम्मावटमा क्याल्सियम पनि मिसिएको हुन्छ, जसले गर्दा यो ‘कडा’ हुन्छ। सामान्यतया यस्तो प्लाकलाई स्थिर मानिन्छ र यो फुट्ने सम्भावना कम हुन्छ।
नन-क्याल्सिफाइड प्लाक : यो ‘नरम’ हुन्छ र यसमा कोलेस्ट्रोल र अन्य तरल पदार्थको मात्रा बढी हुन्छ। यो प्लाक अस्थिर हुने भएकाले जुनसुकै बेला फुट्न सक्छ र रगतको नशामा अवरोध सिर्जना गरी हृदयघात (हर्ट अट्याक) गराउन सक्छ।
महिलाहरूमा यसको असर
यो अध्ययनले विशेष गरी नन क्याल्सिफाइड प्लाकको मात्रा थोरै हुँदा पनि महिलाहरूमा जोखिम छिटो बढ्ने देखाएको छ। महिलाहरूमा ७ प्रतिशत मात्र यस्तो नरम बोसो देखिँदा जोखिम सुरु हुन्छ, जबकि पुरुषमा ९ प्रतिशत पुग्दा मात्र खतरा देखिन्छ। यसको अर्थ महिलाको शरीर नरम प्लाक प्रति बढी संवेदनशील हुन्छ।
महिलाहरूका लागि यो अध्ययन किन महत्वपूर्ण छ?
समयमै उपचार: धेरै जसो अवस्थामा महिलाहरूमा मुटुको समस्या ढिलो पहिचान हुने गर्छ। यो अध्ययनले थोरै बोसो देखिँदैमा सतर्क हुन र औषधि वा जीवनशैलीमा परिवर्तन गर्न मार्गदर्शन गर्छ।
जाँचको नयाँ दृष्टिकोण: चिकित्सकहरूले अब सिटि कोरोनरी एन्जियोग्राफी (सीसीटिए) को नतिजा हेर्दा महिलाको हकमा “कम बोसो छ, डराउनु पर्दैन” भन्नुअघि यो नयाँ मापदण्डलाई विचार गर्नुपर्ने हुन्छ।
जोखिमको तीव्रता: महिलामा बोसोको मात्रा बढ्दै जाँदा जोखिम पुरुषको तुलनामा धेरै तीव्र गतिमा (शार्पर राइज) बढ्ने भएकाले उनीहरूलाई थप निगरानीको आवश्यकता पर्छ।
जीवनशैलीमा ध्यान दिनुपर्ने कुराहरू
अध्ययनले जोखिमको विन्दु देखाए पनि यसलाई नियन्त्रण गर्न सकिन्छ
- नियमित व्यायाम: नशामा बोसो जम्ने प्रक्रियालाई ढिलो बनाउन मद्दत गर्छ।
- स्वस्थ खानपान: कम बोसोयुक्त र प्राकृतिक फाइबरयुक्त खानाले प्लाक बढ्न दिँदैन।
- समयमै जाँच: छाती हल्का दुख्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा महिलाहरूले तुरुन्तै विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ।


प्रतिक्रिया दिनुहोस