अन्तरिक्षमा किन हराउँछ खानाको स्वाद? नासाले चन्द्र मिशनमा पठायो ‘हट सस’


काठमाडौं – नासा ले चन्द्रमा तर्फ प्रस्थान गरेको आर्टेमिस २ मिशनमा अन्तरिक्ष यात्रीका लागि पाँच प्रकारका पिरो ‘सस’ (चट्नी) पठाइएको छ। करिब १० दिनको यात्रामा चन्द्रमाको परिक्रमा गरेर फर्किने यो टोली सँग १८९ प्रकारका खाद्य सामग्री छन। तर ती मध्ये ‘हट सस’ समावेश हुनुको कारण स्वाद भन्दा बढी स्वास्थ्यसँग सम्बन्धित छ।

नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) संयुक्त राष्ट्र अमेरिकाको सरकारी संस्था हो, जसले अन्तरिक्ष र हवाई प्रविधि सम्बन्धी अनुसन्धान गर्छ।

सूक्ष्म गुरुत्वाकर्षणको प्रभाव

पृथ्वीबाट बाहिरिए पछि केही घण्टा मै शरीरका तरल पदार्थ माथिल्लो भाग तिर सर्ने गर्छन। गुरुत्वाकर्षण नहुँदा रगत, लिम्फ र पानी जस्ता तरल पदार्थ टाउको तिर जम्मा हुन्छन्। यसले अनुहार सुन्निने, साइनस भरिने र नाक बन्द हुने समस्या निम्त्याउँछ, जसलाई ‘स्पेस कोल्ड’ भनिन्छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) का तथ्यांक अनुसार करिब ७५ प्रतिशत अन्तरिक्ष यात्रीले यस्तो अनुभव गर्छन।

किन हराउँछ खानाको स्वाद?

स्वाद केवल जिब्रोबाट मात्र महसुस हुँदैन, यसको ठूलो हिस्सा नाक सँग सम्बन्धित हुन्छ। जिब्रोले मीठो, नुनिलो, अमिलो, तितो र उमामी (उमामी एक जापानी शब्द हो जसको अर्थ ‘स्वादिष्ट’ हो। पहिलो पटक १९०८ मा जापानी वैज्ञानिक किकुने इकेडा द्वारा पहिचान गरिएको, यो ग्लुटामेट भनिने एमिनो एसिडबाट आएको हो) मात्र छुट्याउँछ भने वास्तविक स्वादको अनुभव नाक मार्फत आउने सुगन्धले पूरा गर्छ। नाक बन्द हुँदा यो प्रक्रिया अवरुद्ध हुन्छ, जसका कारण खाना बेस्वाद लाग्छ।

यस सँगै अन्तरिक्षमा प्रयोग हुने खाना लामो समय टिकाउन विशेष प्रक्रियाबाट तयार गरिन्छ, जस्तै ड्राइ, पुनःहाइड्रेटेबल वा उच्च तापक्रममा प्रशोधित। यसले सुरुमै स्वाद र सुगन्ध घटाइ दिन्छ। क्याप्सुल भित्रको पुनःप्रयोग गरिएको हावा र उपकरणको गन्धले पनि स्वाद झन कमजोर बनाउँछ।

पोषणमा असर

खाना स्वादहीन भएपछि अन्तरिक्ष यात्रीले कम खान थाल्छन। अध्ययनहरूले उनीहरूको ऊर्जा सेवन आवश्यकता भन्दा करिब २५ प्रतिशत कम हुने देखाएका छन । यसले मांसपेशी कमजोर हुने, प्रतिरक्षा प्रणाली घटने र मानसिक कार्यक्षमता प्रभावित हुने जोखिम बढाउँछ। नासाले यसलाई ‘रेड रिस्क’को रूपमा वर्गीकृत गरेको छ।

हट सस किन उपयोगी?

‘हट सस’मा पाइने ‘क्याप्सेसिन’ तत्वले स्वादको अनुभूति नाक मार्फत होइन, स्नायु प्रणाली मार्फत दिन्छ। विशेष गरी ट्राइजेमिनल नर्भ मार्फत यसले मस्तिष्क लाई पिरोपन र तापको संकेत दिन्छ। नाक बन्द भए पनि यसले खानामा केही ‘फिल’ दिन्छ, जसले खानालाई सह्य बनाउँछ।

दीर्घकालीन चुनौती

अन्तरिक्ष यात्राको ६० वर्षे इतिहासमा यो समस्या निरन्तर देखिँदै आएको छ। आर्टेमिस २ जस्तो छोटो मिशनमा ‘हट सस’ अस्थायी समाधान भए पनि भविष्यका लामो यात्रामा यो अझ जटिल बन्न सक्छ।

हाल नासाले स्थायी समाधान खोज्ने प्रयास गरिरहेको छ। तर अहिलेका लागि ‘हट सस’ले अन्तरिक्षमा स्वादहीन भोजनलाई केही हद सम्म सह्य बनाउने काम गरिरहेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!