मधुमेहका बिरामीमा मुटु रोगको जोखिम घट्दो: अब क्यान्सर र डिमेन्सिया नयाँ चुनौती
काठमाडौँ -विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेट डाइबेटिज एन्ड इन्डोक्राइनोलोजी मा प्रकाशित एउटा नयाँ अध्ययनले मधुमेहका बिरामीहरूको मृत्युको मुख्य कारण बारे नयाँ तथ्य सार्वजनिक गरेको छ। उच्च आय भएका ११ वटा देशहरूमा गरिएको यो विस्तृत अध्ययनले मधुमेहका बिरामीमा मुटु रोगका कारण हुने मृत्युदरमा उल्लेख्य गिरावट आएको देखाएको छ। द ल्यान्सेट डाइबेटिज एन्ड इन्डोक्राइनोलोजी मा प्रकाशित उक्त अध्ययनलाई यहाँ गरेर पढ्न सकिन्छ
अध्ययनका मुख्य निष्कर्षहरू
मुटु रोगको जोखिम घट्दो, क्यान्सर र बिर्सिने रोग (डिमेन्सिया) बढ्दो
लामो समय देखि मधुमेह भएका व्यक्तिहरूको मृत्युको प्रमुख कारण मुटु र रक्तनली सम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिज) लाई मानिँदै आएको थियो। तर, पछिल्लो समय उपचार पद्धतिमा भएको सुधारका कारण यस बाट हुने मृत्यु दरमा ८% देखि २५% सम्म गिरावट आएको छ। कतिपय देशहरूमा त अहिले मुटु रोग भन्दा क्यान्सर मधुमेहका बिरामीको मृत्युको मुख्य कारण बन्न थालेको छ ।
डिमेन्सियाको चुनौती
अध्ययनले एउटा चिन्ताजनक तथ्य पनि उजागर गरेको छ। मधुमेह भएका र नभएका दुवै समूहमा ‘डिमेन्सिया’ अर्थात बिर्सिने रोगका कारण हुने मृत्युदर भने तीव्र गतिले बढिरहेको छ। विशेष गरी डेनमार्क र स्कटल्यान्ड जस्ता देशहरूमा यो समस्या बढी देखिएको छ।
अध्ययनको दायरा
सन् २००० देखि २०२३ सम्मको तथ्यांक विश्लेषण गरिएको यस अध्ययनमा २७ लाख मधुमेहका बिरामी र १ करोड १० लाख मधुमेह नभएका व्यक्तिहरूको मृत्युको कारण अध्ययन गरिएको थियो। अध्ययनले के देखाउँछ भने अब मधुमेहको उपचारमा मुटुको सुरक्षा सँगै क्यान्सर र मानसिक स्वास्थ्य (डिमेन्सिया) मा पनि विशेष ध्यान दिनु आवश्यक भइसकेको छ।
यद्यपि यो अध्ययन उच्च आय भएका देशहरूमा आधारित छ, यसले नेपाल जस्ता विकासोन्मुख देशका लागि पनि महत्त्वपूर्ण संकेत दिएको छ। मधुमेह नियन्त्रणमा मात्र सीमित नभई मुटुको हेरचाह र क्यान्सरको समयमै पहिचान गर्न सके बिरामीको आयु लम्ब्याउन सकिने यसले पुष्टि गर्छ ।

प्रतिक्रिया दिनुहोस