सगरमाथा चढ्ने पहिलो मिर्गौला प्रत्यारोपित: नेपाली पेम्बा शेर्पा जसले डाक्टरलाई भगवान र अस्पताललाई मन्दिर मान्छन

काठमाडौँ – मिर्गौला प्रत्यारोपण गरिसकेका पेम्बा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी इतिहास रचेका छन्। उनी मिर्गौला प्रत्यारोपण पछि सगरमाथा चढ्न सफल भएका विश्वकै पहिलो व्यक्ति भनेर स्वास्थ्य चुनौती सँग जुधिरहेका धेरैलाई प्रेरणा दिएका छन ।
पेम्बाले सगरमाथाको चुचुरो ८८४८ मिटरको उचाइमा सहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको लोगो सहित अङ्गदान जीवनदान हो। मृत्युपछि हराउने अङ्ग दान गरौं। भन्ने नारा सहितको झण्डा पनि फहराएका थिए।
पेम्बा शेर्पा गत बुधबार बिहान ९:३० बजे सगरमाथाको शिखरमा पुगेका थिए । झण्डै एक महिना अघि उनी सगरमाथा आधार शिविर तर्फ प्रस्थान गरेका थिए। उनको आरोहण अभियान हाई माउन्टेन ट्रेक्स कम्पनी मार्फत व्यवस्थापन गरिएको थियो।
‘म वैशाख ३१ गते बिहान ९:३० बजे सगरमाथाको शिखरमा पुगेँ’, पेम्बाले नेपालहेल्थप्रेससँग कुरा गर्दै भने -‘सगरमाथामा मृगौला प्रत्यारोपण गराएका कोही पुगेका छैनन्। २५०० मिटर माथि कोही गएको छैन।’
विगतमा जापानमा सात वर्ष काम गरेका पेम्बा शेर्पा नेपाल फर्किने क्रममा मिर्गौलामा समस्या देखिए पछि उनी गम्भीर उपचारमा परेका थिए। दुवै मिर्गौलाले काम गर्न छाडे पछि उनको बाबुले मिर्गौला दान गरेका थिए।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा.पुकार चन्द्र श्रेष्ठ को नेतृत्वमा २०७९ साल कार्तिक २ गते उनको मृगौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण पछि उनले करिब ३० महिना लामो उपचार र पुनःस्थापनाको समय बिताएका थिए।
सगरमाथाको टुप्पोमा पुग्दा कस्तो अनुभव भयो भन्ने नेपालहेल्थप्रेसको प्रश्नमा पेम्बाले भने -‘अस्पताल, डाक्टर र आफूलाई सम्झे। म डाक्टरहरूलाई भगवान र अस्पताललाई मन्दिर मानेको छु। हामी जस्तै रोगी यो मन्दिरका भक्तजन हुन्।’ उनले अगाडि थपे, ‘डाक्टर- हस्पिटल नभएको भए मेरो मृत्यु भएको पाँच वर्ष भइ सक्थ्यो।’
मिर्गौला प्रत्यारोपण पछि २४ महिना नबित्दै सन् २०२४ को मार्च २२ मा उनले ६,१९९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका थिए।
‘मिर्गौला प्रत्यारोपण पछि सगरमाथा आरोहण अभियान २०८१’ नाम दिइएको यो अभियान जीवनलाई पुनः प्राप्त गरे पछि त्यसलाई सार्थक बनाउने उद्देश्यले शुरु गरिएको पेम्बाले बताए। उनी भन्छन्, ‘मिर्गौला प्रत्यारोपण पछि पनि हरेक व्यक्ति सामान्य जीवन बाँच्न र चुनौती पार गर्न सक्षम हुन्छन्। जसको एउटा सामान्य उदाहरण म नै हुँ।’
२०४५ साल चैत्र ६ गते सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–७, सोलाबनमा जन्मिएका पेम्बा शेर्पालाई अहिले देश–विदेशबाट बधाइ तथा प्रशंसा प्राप्त भइरहेको छ। पेम्बाको यो सफलताले स्वास्थ्य चुनौती सँग जुधिरहेका धेरै लाई प्रेरणा दिने छ ।
प्रतिक्रिया दिनुहोस