मनको कुरा गरौँ’ अभियान सुरु, मानसिक स्वास्थ्य सरकारको शीर्ष प्राथमिकतामा :स्वास्थ्य मन्त्री डा. सुधा शर्मा
काठमाडौँ – स्वास्थ्य मन्त्री डा. सुधा शर्माले मन्त्रालयले मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट गरेकी छन्। मन्त्री बनेको एक महिना पुगेको सन्दर्भ उल्लेख गर्दै उनले विगतमा शारीरिक स्वास्थ्यतर्फ बढी ध्यान गएको र मानसिक स्वास्थ्य क्षेत्रमा सीमित काम मात्रै भएको स्वीकार गरिन्।
स्वस्थ मनः स्वस्थ जीवन मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ अन्तर्गत बुधबार ‘मनको कुरा गरौँ’ नारासहित सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले हरेक परिवार मानसिक स्वास्थ्य समस्याबाट कुनै न कुनै रूपमा प्रभावित भएको बताइन्। उनका अनुसार, मन्त्रालयले सञ्चालन गर्ने मानसिक स्वास्थ्य कार्यक्रमको गति सुस्त रहे पनि अहिले यसलाई प्राथमिकतामा राखेर अघि बढाइएको छ।
श्रमिक स्वास्थ्य प्रायः शारीरिक पक्षमै सीमित हुने क्रम तोड्न आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘घरबाट टाढा रहने श्रमिकको मानसिक अवस्था अझ जटिल हुन्छ। श्रमिक स्वास्थ्य भन्नाले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई बुझ्नुपर्छ।’
मेन्टल हेल्थ चिकित्सकीय विषय मात्रै नभई घरपरिवारको व्यवहार र सम्बन्धसँग पनि जोडिएको बताउँदै उनले परिवारभित्र संवाद बढाउन आग्रह गरिन्। ‘आफ्नो परिवार, आफन्त, छोराछोरीका मनका कुरा सुन्नुस्। यसले धेरै समस्या कम गर्छ,’ मन्त्री शर्माले भनिन्।
उनका अनुसार, हाल विभिन्न तालिममार्फत ४०० भन्दा बढी मनोसामाजिक परामर्शदाता तयार भइसकेका छन्। सीमित स्रोतसाधन रहे पनि उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गरेर मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउने तर्फ मन्त्रालय लागि परेको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस