अनुसन्धान
मांसपेशी बढ्दा र बोसो घट्दा मस्तिष्क ‘जवान’ रहने अध्ययनको निष्कर्ष
नयाँ अध्ययनले शरीरमा मसल्स (मांसपेशी) बढी र बोसो कम भएको अवस्थामा मस्तिष्कको जैविक उमेर कम देखिने निष्कर्ष निकालेको छ। बोसो कम र मसल्स बढी भएका व्यक्तिको मस्तिष्क उमेर अनुसार भन्दा युवा देखिने र काम गर्ने क्षमता राम्रो हुने अध्ययनले जनाएको छ।
अनुसन्धानले पेट वरपर हुने भित्री बोसो मस्तिष्कको बुढ्यौली छिटो बढाउने संकेत पाएको छ। यसको विपरीत, मसल्स बढी भएका व्यक्तिमा यो प्रक्रिया ढिलो देखिएको छ। यो निष्कर्ष आगामी सातामा उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटीको वार्षिक सम्मेलनमा प्रस्तुत गरिनेछ।
अध्ययनले पेट भित्र आन्तरिक अङ्ग वरपर जम्ने भित्री बोसोको प्रभावलाई विशेष रूपमा उल्लेख गरेको छ। १ हजार १ सय ६४ वयस्क (५२ प्रतिशत महिला) को पूर्ण शरीर एमआरआईका आधारमा एआई प्रविधिले मांसपेशी, पेटको बोसो, छाला मुनिको बोसो र मस्तिष्कको अनुमानित जैविक उमेर मापन गरेको थियो।
तथ्याङ्क विश्लेषणमा बोसो मसल्स अनुपात बढी भएका व्यक्तिहरूको अनुमानित मस्तिष्क उमेर पनि बढी देखा पर्यो। अनुसन्धानकर्ताहरूका अनुसार, मांसपेशी विकासमा ध्यान दिनु र शरीरको बोसो कम गर्नु मस्तिष्कलाई युवा राख्न प्रभावकारी रहेको छ।

प्रतिक्रिया दिनुहोस