अनुसन्धान
मोटोपनले फोक्सो कमजोर बनाउँछ, समय अगाबै बुढ्यौली ल्याउँछ : अध्ययन

एक नयाँ अध्ययनले अत्यधिक मोटोपन (सीभियर ओबेसिटी) भएका व्यक्तिहरूको फोक्सो छिटो बुढो हुने देखाएको छ। जर्मनीको बोन विश्वविद्यालय का अनुसन्धानकर्ताहरूले मोटोपनका कारण फोक्सोमा हुने पोषण सम्बन्धी परिवर्तन कसरी असर गर्छ भन्ने विषयमा अध्ययन गरेका हुन्।
उनीहरूले पत्ता लगाए कि मोटोपनका कारण फोक्सोको ‘एक्स्ट्रासेल्युलर म्याट्रिक्स’, फोक्सोको आकार र स्थायित्व निर्धारण गर्ने प्रोटिन आधारित संरचनामा परिवर्तन आउँछ।
यो अध्ययन सेल रिपोर्ट्स जर्नलमा प्रकाशित भएको हो जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ । यो अध्ययनमा भनिएको छ, ‘फोक्सोका तन्तुमा देखिएका यी परिवर्तन सामान्यतया उमेर बढे सँगै हुने जैविक परिवर्तनसँग मिल्दो जुल्दो छन्। यसले देखाउँछ कि अत्यधिक तौलका कारण फोक्सो समय भन्दा अगावै बुढो बन्छ।’
अनुसन्धान टोलीले प्रोटिन, बोसो र जीनको संयुक्त अध्ययनका लागि ‘मल्टी ओमिक्स’ प्रविधि प्रयोग गर्यो। सूक्ष्मदर्शी विश्लेषण मार्फत मोटा र दुब्ला मुसाका फोक्सोको तुलना गरिएको थियो। त्यसबाट फोक्सोमा हुने आणविक (मोलिक्युलर) र कार्यात्मक (फङ्क्सनल) परिवर्तनहरू बुझ्न सहयोग भयो।
मोटोपन र सास फेर्न कठिनाइ
अध्ययनका अनुसार मोटोपन भएका व्यक्तिहरूका फोक्सोका संयोजी तन्तु (फाइब्रोब्लास्ट) ले बढी बोसो जम्मा गर्छन् र ती कोशिकाहरू समय अगावै बुढो हुने संकेत देखाउँछन्। यसै क्रममा फोक्सोको म्याट्रिक्समा रहेका केही प्रोटिनहरूको सन्तुलन बिग्रिन्छ, जसले फोक्सोको लचकता (इलास्टिसिटी) घटाउँछ। यही कारणले मोटा व्यक्तिहरूमा सास फेर्न कठिनाइ हुने सम्भावना बढ्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
बुढ्यौली सँग मिल्दो जुल्दो परिवर्तन
अनुसन्धान टोलीका अनुसार मोटोपनका कारण देखिएका यी परिवर्तनहरू सामान्यतया वृद्ध व्यक्तिमा देखिने परिवर्तनसँग मिल्दो जुल्दो छन्, जसले मोटोपनलाई फोक्सो छिटो बुढो बनाउने एक प्रमुख कारणका रूपमा देखाउँछ।
अध्ययनले फोक्सोको संयोजी तन्तु फाइब्रोब्लास्टिक स्ट्रोमाको (एफएससी) विश्लेषण र एक्स्ट्रासेल्युलर म्याट्रिक्सको अध्ययनलाई चुनौतीपूर्ण भनेको छ, किनकि ती संरचनाहरू जटिल र धेरै प्रोटिनले भरिएका हुन्छन्।
अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन्, ‘मोटोपनले फोक्सोमा जटिल परिवर्तन ल्याउँछ, जसले फोक्सोको कार्यक्षमता घटाउँछ र समय अगावै बुढ्यौली ल्याउन सक्छ।’
प्रतिक्रिया दिनुहोस