अनुसन्धान
मोटोपनाले अल्जाइमर रोगको जोखिम बढाउन सक्छ : अध्ययन

मोटोपनाले केवल शारीरिक समस्या होइन, मस्तिष्कमा पनि असर पार्ने नयाँ तथ्य खुलासा भएको छ। एक नयाँ अनुसन्धान अनुसार, मोटोपना अल्जाइमर रोगको प्रत्यक्ष कारण बन्न सक्छ।
वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि शरीरको बोसोबाट निस्कने सूक्ष्म सन्देशवाहक (एक्स्ट्रासेलुलर भेसिकल्स) मस्तिष्कमा हानिकारक सिग्नल पुर्याउन सक्छन्। यी भेसिकल्सले रक्त-मस्तिष्क अवरोध (ब्लड ब्रेन बेरियर) पार गर्न सक्छन् र मस्तिष्कमा एमिलॉयड-बी प्लाक बन्ने प्रक्रियालाई तीव्र बनाउँछन्। यही प्लाक अल्जाइमर रोगका प्रमुख कारणहरू मध्ये एक हो।
‘एडिपोज-ब्रेन क्रसटलकलाई डिकोड गर्नु’ शीर्षकको यो अध्ययन अल्जाइमर एन्ड डिमेन्सिया : द जर्नल अफ द अल्जाइमर एसोसिएसन मा प्रकाशित भएको छ, यसलाई पढ्न यहाँ क्लिक गर्न सकिन्छ। यसले मोटोपना र स्नायु-क्षयजन्य रोग (न्यूरोडिजेनेरेटिभ डिसअर्डर) बीचको सम्बन्धको खोज गरेको हो।
अनुसन्धानको नेतृत्व स्टिफन वागले गरेका थिए। वागका अनुसार, ‘हालका अध्ययनहरूले देखाएका छन् कि मोटोपना अमेरिकामा डिमेन्सियाको सबैभन्दा ठूलो जोखिम कारक मानिन्छ।’
शोधमा यो पनि पत्ता लागेको छ कि यी कोशिकीय सन्देश वाहकहरूको लिपिड सामग्री मोटो र सामान्य तौलका व्यक्तिहरूमा फरक हुन्छ। यी भिन्नताले मस्तिष्कमा एमिलॉयड-बी प्लाक जम्मा हुने गतिमा पनि असर पार्छ।
शोधकर्ताहरूले मुसा (माउस) का मोडेल र मानव शरीरका बोसोका नमुनाहरू प्रयोग गरी यी भेसिकल्सको परीक्षण गरे। उनीहरूका अनुसार, यदि यी सूक्ष्म सन्देशवाहकहरूलाई लक्षित गरी तिनको सन्देश आदान प्रदान रोक्न सकियो भने, मोटोपनाले ग्रस्त व्यक्तिहरूमा अल्जाइमर रोगको जोखिम घटाउन मद्दत मिल्न सक्छ।
प्रतिक्रिया दिनुहोस