अनुसन्धान
मस्तिष्क क्यान्सरले खप्पर र प्रतिरक्षा प्रणालीमा असर पार्न सक्छ

मस्तिष्क क्यान्सरको सबैभन्दा घातक रूप ग्लियोब्लास्टोमा ले खप्पर को अस्थिमज्जाको बनावट परिवर्तन गर्न सक्ने र शरीरको प्रतिरक्षा प्रतिक्रिया (इम्यून रिस्पोन्स) मा हस्तक्षेप गर्न सक्ने तथ्य पत्ता लागेको छ।
यो तथ्य अमेरिकाको मोंटेफियोर आइंस्टाइन कम्प्रिहेन्सिभ क्यान्सर सेन्टर र अल्बर्ट आइंस्टाइन कलेज अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेका अध्ययनबाट खुलेको हो। यो अध्ययन ‘नेचर न्युरोसाइन्स’ पत्रिकामा प्रकाशित गरिएको छ, 👉जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
अनुसन्धानमा पत्ता लाग्यो कि खप्परको हड्डीलाई क्षतिबाट बचाउने औषधि प्रयोग गर्दा ग्लियोब्लास्टोमा अझ आक्रामक बन्ने सम्भावना बढ्छ।
आइंस्टाइन विश्वविद्यालयका न्युरोलोजिकल सर्जरी तथा माइक्रोबायोलोजी र इम्युनोलोजी विभागका सहायक प्राध्यापक जिनान बेहननका अनुसार, ‘मस्तिष्क क्यान्सर शरीरको प्रतिरक्षा प्रणालीसँग कसरी अन्तरक्रिया गर्छ भन्ने बुझ्नाले किन हालका उपचार सफल हुन सकेका छैनन् भन्ने कुरामा प्रकाश पार्न सक्छ।’
अनुसन्धान टोलीले मुसामा इमेजिङ प्रविधि प्रयोग गर्दै पत्ता लगायो कि ट्युमरका कारण खप्परको हड्डी क्षय हुन थाल्यो, विशेष गरी ती स्थानहरूमा जहाँ हड्डीहरू आपसमा जोडिएका छन्। यस्तो क्षय अन्य प्रकारका क्यान्सरमा देखिँदैन
ग्लियोब्लास्टोमा बिरामीहरूको सीटी स्क्यान चित्रले पनि देखायो कि खप्परको मोटाइ घट्ने प्रक्रिया त्यही क्षेत्रमा हुन्छ, जुन मुसामा पनि देखिएको थियो। मुसामा भएको हड्डी क्षयका कारण खप्परका हड्डी च्यानलहरूको संख्या र आकार बढेको पाइएको छ।
शोधकर्ताहरूको अनुमान अनुसार, यी च्यानलहरूले ग्लियोब्लास्टोमालाई खप्परको अस्थि मज्जासँग सन्देश पठाउन सहयोग गर्न सक्छन्, जसले शरीरको प्रतिरक्षा प्रणालीमा परिवर्तन ल्याउन सक्छ।
अनुसन्धानमा थप देखियो कि ग्लियोब्लास्टोमाले खप्परको अस्थिमज्जामा केही जीन सक्रिय गर्यो, तर फीमर (जांघको हड्डी) को मज्जामा भने क्यान्सरले प्रतिरक्षा कोषहरूको आवश्यक जीनहरू दबायो। यस अध्ययनले मस्तिष्क क्यान्सर उपचारमा नयाँ दृष्टिकोण दिन सक्ने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस