उच्च रक्तचाप नियन्त्रण नभए एक अर्बभन्दा बढी मानिस जोखिममा : डब्लुएचओ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको दोस्रो ग्लोबल हाइपरटेन्सन रिपोर्ट अनुसार सन् २०२४ सम्ममा विश्व भर करिब १.४ अर्ब मानिस उच्च रक्तचाप (हाइपरटेन्सन) बाट प्रभावित भएका छन्। ती मध्ये पाँच जना मध्ये केवल एक जनाले मात्र औषधि वा जीवन शैली परिवर्तन मार्फत रक्तचाप नियन्त्रणमा राख्न सकेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
संयुक्त राष्ट्रसंघको ८०औँ महासभाको क्रममा डब्लुएचओ, ब्लूमबर्ग फिलान्थ्रपिज् र रिजल्भ टु सेभ लाइभ्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले कम आय भएका मुलुकहरूमध्ये केवल २८ प्रतिशतमा मात्र डब्लुएचओले सिफारिस गरेका सम्पूर्ण औषधि फार्मेसी वा प्राथमिक स्वास्थ्य संस्थामा सहजै उपलब्ध हुने गरेको देखाएको छ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससले उच्च रक्तचापलाई रोकथाम र उपचार गर्न सकिने भए पनि ढिला सुस्तीका कारण हरेक घण्टा एक हजार भन्दा बढी मानिस स्ट्रोक र मुटु सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेको बताए। उनले भने, ‘राजनीतिक इच्छाशक्ति, निरन्तर लगानी र स्वास्थ्य सेवामा सुधार मार्फत करोडौँ जीवन बचाउन सकिन्छ।’
ब्लूमबर्ग पब्लिक हेल्थ प्रोग्रामकी प्रमुख डा. केली हेन्निङले भने, ‘प्रत्येक वर्ष १ करोड भन्दा बढी मानिस उच्च रक्तचापका कारण ज्यान गुमाउँछन्। तर उपचार र रोकथाम सम्भव भएको रोगलाई अझै धेरै देशमा प्राथमिकतामा राखिएको छैन। प्रभावकारी नीतिहरू र उपचारको पहुँच विस्तार अत्यावश्यक छ।’
चुनौती र अवस्था
प्रतिवेदन अनुसार १९५ देश मध्ये ९९ देशमा उच्च रक्तचाप नियन्त्रण दर २० प्रतिशत भन्दा तल छ। ती मध्ये अधिकांश कम र मध्यम आय भएका मुलुकमा स्वास्थ्य प्रणाली कमजोर भएकाले रोकथाम, उपचार र दीर्घकालीन व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ।
मुख्य अवरोधहरूमा अस्वस्थ जीवनशैली नियन्त्रण गर्ने कमजोर नीति, मानक उपचार प्रोटोकल र तालिम प्राप्त स्वास्थ्यकर्मीको कमी, औषधि महँगो हुनु, आपूर्ति प्रणाली अस्थिर हुनु, तथा रोगीलाई आर्थिक सुरक्षा नपुग्नु लगायत समेटिएका छन्।
औषधिको पहुँच
डब्लुएचओले रक्तचाप नियन्त्रण गर्ने औषधिलाई सस्तो र प्रभावकारी सार्वजनिक स्वास्थ्य उपकरणको रूपमा वर्णन गरेको छ। तर प्रतिवेदन अनुसार कम आय भएका मुलुक मध्ये केवल २८ प्रतिशतले मात्र यी औषधि सामान्यतया उपलब्ध भएको बताएका छन्। धनी मुलुकमा भने यो उपलब्धता ९३ प्रतिशत पुगेको छ।
रिजल्भ टु सेभ लाइभ्सका प्रमुख डा. टम फ्राइडनले भने, ‘सस्तो र प्रभावकारी औषधि उपलब्ध छ, तर अझै धेरै मानिस सम्म पुग्न सकेको छैन। यो अन्तर घटाउन सकियो भने जीवन र आर्थिक दुवै बचाउन सकिन्छ।’
सुधारका उदाहरण
बंगलादेशले सन् २०१९ देखि २०२५ बीच केही क्षेत्रमा रक्तचाप नियन्त्रण दर १५ प्रतिशतबाट ५६ प्रतिशत पुर्याउन सफल भएको छ। फिलिपिन्सले डब्लुएचओको एचइएआरटीएस प्याकेजलाई सामुदायिक स्वास्थ्य सेवामा प्रभावकारी रूपमा लागू गरेको छ भने दक्षिण कोरियाले सस्तो औषधि र कम शुल्क मार्फत २०२२ मा ५९ प्रतिशत राष्ट्रिय नियन्त्रण दर हासिल गरेको छ।
डब्लुएचओले सबै मुलुकलाई उच्च रक्तचाप नियन्त्रणलाई युनिभर्सल हेल्थ कवरेज सुधारमा समावेश गर्न आग्रह गरेको छ। प्रतिवेदनमा उल्लेखित सिफारिसहरू लागू गर्न सके लाखौँ अकाल मृत्यु रोक्न र ठूलो सामाजिक तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने डब्लुएचओको भनाइ छ।
प्रतिक्रिया दिनुहोस