अनुसन्धान
मुखका ब्याक्टेरियाले पनि बढाउँछ हृदयाघातको खतरा: वैज्ञानिकहरूको चेतावनी

काठमाडौं – वैज्ञानिकहरूले मुख भित्र रहेका ब्याक्टेरियाले समेत घातक हृदयाघात को जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्। हालै अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा यो अध्ययन प्रकाशित भएको हो जसलाई पढ्न 👉यहाँ क्लिक गर्न सक्नु हुन्छ। उक्त अध्ययनमा मुखमा पाइने विशेष प्रकारका ब्याक्टेरिया ‘भिरिडान्स स्ट्रेप्टोकोकी’ (Viridans Streptococci) हृदयाघातको प्रमुख कारण बन्न सक्ने देखाइएको छ।
फिनल्यान्ड र बेलायतका अनुसन्धानकर्ताले गरेको यो अध्ययनमा १२१ जना व्यक्तिहरूको धमनी (आर्टरी) मा जम्मा भएको प्लाक परीक्षण गरिएको थियो। ती व्यक्तिहरू अस्पताल बाहिर अकस्मात मृत्यु भएका थिए।
साथै, ९६ जना बिरामीको शल्यक्रिया गरिएको धमनीका नमूना पनि जाँचिएको थियो। नतिजामा करिब आधा नमूनामा मुखका ब्याक्टेरियाको डीएनए भेटिएको थियो। विशेष गरी भिरिडान्स स्ट्रेप्टोकोकी ४२% हृदय धमनीको प्लाक र ४३% शल्यक्रियाबाट लिइएको नमूनामा भेटियो।
कसरी बढाउँछ हार्ट अट्याकको जोखिम?
धमनिमा बन्ने बोसोको तह भित्र ब्याक्टेरिया जम्मा हुन्छन् र विस्तारै टाँसिने तह (बायोफिल्म) बनाउँछन्। यसलाई शरीरको इम्युन सिस्टमले सजिलै चिन्न सक्दैन। जब यस्तो तह फाट्छ, ब्याक्टेरिया र तिनका अंश बाहिर निस्कन्छन्। यसले प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ र सुन्याई सुरु हुन्छ। सुन्याईले धमनीको पर्खाल कमजोर बनाउँछ, जसले गर्दा धमनी च्यातिने र घातक हृदयाघात हुने सम्भावना बढ्छ।
अनुसन्धानमा भिरिडान्स स्ट्रेप्टोकोकी नामक ब्याक्टेरियाले ‘टिएल आर२’ नामक मार्गलाई सक्रिय गर्ने तथ्य पनि पाइएको छ, जसले धमनीमा सुन्याई लाई अझ तीव्र बनाउँछ।
अनुसन्धानले दाँत र गिजाको स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हृदय स्वास्थ्यसँग रहेको देखाएको छ। नियमित रूपमा मुखको सफाइ गर्न सके हृदयाघातको जोखिम उल्लेख्य मात्रामा कम गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस