अनुसन्धान
महिलामा मुटुरोगको खतरा पत्ता लगाउने नयाँ एआई टुल

अनुसन्धानकर्ताहरूले महिलामा मुटु रोगको जोखिम अनुमान गर्न सक्ने नयाँ एआई टुल विकास गरेका छन्। यो टुलले केवल उमेर र स्तनको म्यामोग्रामको विश्लेषण मार्फत मुटु सम्बन्धी रोगको सम्भावना पत्ता लगाउन सक्छ। विशेष कुरा यो हो कि यसका लागि विस्तृत चिकित्सकीय रेकर्ड आवश्यक पर्दैन।
यो टुल अष्ट्रेलियाको भिक्टोरिया प्रान्तका ४९१९६ महिलाहरूको नियमित एक्स-रे म्यामोग्रामका आधारमा तयार गरिएको, बिएमजे ‘हर्ट’मा प्रकाशित अध्ययन मा उल्लेख छ, 👉जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। यी रेकर्ड अस्पतालहरूबाट संकलन गरिएको थियो।
अध्ययन सँग सम्बन्धित अनुसन्धानकर्ता तथा जर्ज इन्स्टिच्युटको कार्डियोभास्कुलर कार्यक्रमका विश्वव्यापी निर्देशक क्लेयर अर्नाटका अनुसार महिलामा मुटु रोगको खतरा पहिचान गर्न नयाँ तरिकाको आवश्यकता छ। उनले भने, ‘म्यामोग्राम मार्फत स्तन परीक्षणलाई मुटु रोगको खतरा पहिचान सँग जोडेर हेर्ने हो भने महिलामा कार्डियोभास्कुलर जोखिमलाई समयमै पत्ता लगाउन सकिन्छ, जसले रोग रोकथाममा मद्दत पुर्याउँछ।’
उनले थपे, ‘यो पहिलो मोडल हो जसले म्यामोग्राफिक तस्वीर र उमेर मात्रको आधारमा काम गर्छ। यसमा अन्य चिकित्सकीय रेकर्ड आवश्यक पर्दैन। यसले सीमित स्रोतमा पनि बढी सटीक अनुमान लगाउन सक्छ।’
अनुसन्धानकर्ताहरूले यो एआई टुललाई विभिन्न जनसंख्यामा परीक्षण गर्नुपर्ने र यसको कार्यान्वयनमा आउने चुनौती बुझ्न थप अध्ययन आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस