अनुसन्धान
सिजोफ्रेनियासँग सम्बन्धित आठ नयाँ जीनको पहिचान
यो खोजले गम्भीर मानसिक रोगको कारण बुझ्न र भविष्यमा उपचारका नयाँ बाटा खोल्न ठूलो मद्दत गर्ने अपेक्षा गरिएको छ

बेलायतका वैज्ञानिकहरूले सिजोफ्रेनियासँग सम्बन्धित आठ नयाँ जीन पत्ता लगाएका छन्। यो खोजले गम्भीर मानसिक रोगको कारण, प्रकृति र भविष्यका उपचार पद्धति बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
सिजोफ्रेनिया यस्तो मानसिक विकार हो जसले व्यक्तिको सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिका प्रभावित गर्छ। यसले मतिभ्रम, भ्रम, असामान्य सोच र व्यवहार जस्ता लक्षणहरू उत्पन्न गर्न सक्छ।
यो अध्ययन कार्डिफ विश्वविद्यालयको न्यूरोसायकियाट्रिक जेनेटिक्स एण्ड जीनोमिक्स सेन्टर का वैज्ञानिकहरूले गरेका हुन्। अनुसन्धानमा दुर्लभ तर गहिरो प्रभाव पार्ने उत्परिवर्तनहरू (म्युटेशन) खोजिएको थियो, जुन प्रोटिन-कोडिङ जीनमा पाइन्छ र सिजोफ्रेनिया भएका व्यक्तिहरूमा बढी देखिन्छ।
अध्ययन प्रतिष्ठित पत्रिका नेचर कम्युनिकेशन मा प्रकाशित छ। यसमा दुई जीन – एसटिएजी -१ र जेडएनएफ-१३६ लाई सिजोफ्रेनियासँग सबल आनुवंशिक प्रमाणका साथ जोडिएको छ। साथै, थप छ जीन – एसएलसी६ए१, केएलसी१, पीसिएलो, जेडएमवाईएनडी११, भीएससीएल२, सीजिआरेएफ१ मध्यम प्रमाणका साथ सम्बन्धित पाइएको छ।
अनुसन्धानमा पहिलो पटक एसएलसी६ए१ र केएलसी१ जीनलाई ‘मिसेन्स भेरिएन्ट्स’ मार्फत सिजोफ्रेनियाको जोखिमसँग जोडिएको देखाइएको छ। मिसेन्स भेरिएन्ट्सले प्रोटिनको अमिनो एसिड अनुक्रम परिवर्तन गर्छ, जसले प्रोटिनको कार्यमा असर पार्छ।
अनुसन्धान टोलीकी सदस्य सोफी चिकका अनुसार, यी निष्कर्षहरूले सिजोफ्रेनियाको सम्बन्ध डीएनएको संगठनमा हुने परिवर्तन र मस्तिष्कका कोष बीच ‘गाबा’ नामक रसायन मार्फत हुने संचार प्रक्रियामा अवरोधसँग हुनसक्ने संकेत गर्छन्।
वैज्ञानिकहरूको भनाइमा, यो खोजले सिजोफ्रेनियाको जटिल न्युरोबायोलोजी बुझ्न थप योगदान पुर्याउनेछ र भविष्यमा नयाँ औषधि तथा उपचार विधि विकास गर्ने लक्ष्य नजिक ल्याउनेछ।
प्रतिक्रिया दिनुहोस