रगत पातलो बनाउने औषधिको प्रभाव घट्दै: प्रत्येक तेस्रो बिरामी हृदयघातको जोखिममा


नयाँ दिल्ली (ब्युरो) – रगत पातलो बनाउन प्रयोग हुने एस्पिरिन र क्लोपिडोग्रेल जस्ता औषधिको प्रभाव धेरै बिरामीमा घट्दै गएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार करिब प्रत्येक तेस्रो बिरामीमा यी औषधिले पूर्ण वा आंशिक रूपमा काम नगरेको पाइएको छ।

भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का चिकित्सकहरूले गरेको उक्त अध्ययनमा मुटु तथा धमनी सम्बन्धी रोग (कोरोनरी आर्टरी डिजिज) भएका १५१ जना बिरामी सहभागी थिए। परीक्षणका क्रममा एस्पिरिन करिब ३० प्रतिशत बिरामीमा प्रभावहीन देखिएको छ भने क्लोपिडोग्रेलको प्रभाव अझ कम रहेको उल्लेख गरिएको छ।

अनुसन्धानकर्ताले प्लेटलेट एग्रिगेशन परीक्षण मार्फत यी औषधिले रगत जम्न नदिन कति प्रभावकारी छन् भन्ने मूल्याङ्कन गरेका थिए। मधुमेह भएका बिरामीमा यी औषधि प्रति प्रतिरोध उच्च देखिएको अध्ययनले जनाएको छ।

औषधि प्रभावकारी नभए हृदयघात र स्ट्रोकको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। अध्ययन अवधिमा केही बिरामीमा पुनः हृदयघात देखिएको र केहीको मृत्यु समेत भएको जनाइएको छ, यद्यपि यसको प्रत्यक्ष सम्बन्ध बारे थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।

हृदयरोग विभागका अनुसन्धानकर्ता डा. निर्मल घाटीले भने, ‘सबै बिरामीका लागि एउटै औषधि रणनीति प्रभावकारी नहुन सक्छ। बिरामीको अवस्था र शरीरको प्रतिक्रिया अनुसार उपचार पद्धति परिवर्तन गर्नुपर्ने हुन सक्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!