बच्चाको खोप र अटिजम बीच कुनै सम्बन्ध छैन: डब्लुएचओको नयाँ विश्लेषण


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अन्तर्गतको खोप सुरक्षा सम्बन्धी विश्वव्यापी विज्ञ समूहले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको निष्कर्ष पुनः पुष्टि गरेको छ। उपलब्ध वैज्ञानिक प्रमाणका आधारमा बाल्यकालीन खोपले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) निम्त्याउँदैन भन्ने डब्लुएचओको अडान यथावत् रहेको संगठनले जनाएको छ।

डब्लुएचओको ग्लोबल एडभाइजरी कमिटी अन भ्याक्सिन सेफ्टी (जिएसीभीएस) ले २७ नोभेम्बर २०२५ मा गरेको बैठकमा पछिल्लो विश्लेषण माथि छलफल गरेको हो। सन् २०१० जनवरी देखि २०२५ अगस्ट सम्म प्रकाशित ३१ वटा प्राथमिक अनुसन्धान अध्ययनको समीक्षा गर्दै समितिले विभिन्न देशका तथ्यांक समेटिएको उच्च गुणस्तरीय प्रमाणका आधारमा यो निष्कर्ष निकालेको जनाएको छ।

विश्लेषणमा विशेष गरी थायोमेरसल युक्त खोप र अटिजम बीचको सम्बन्ध तथा सामान्य रूपमा खोप र अटिजम बीचको सम्भावित सम्बन्ध मूल्यांकन गरिएको थियो। समितिका अनुसार बाल्यकाल र गर्भावस्थामा प्रयोग हुने खोपहरू सुरक्षित छन् र तिनले अटिजम गराउँदैनन् भन्ने कुरा प्रमाणले स्पष्ट देखाएको छ।

समितिले केही खोपमा प्रयोग हुने एल्युमिनियम एड्जुभेन्टसँग सम्बन्धित सम्भावित स्वास्थ्य जोखिम समेत समीक्षा गरेको छ। सन् १९९९ देखि २०२३ मार्च सम्मका अध्ययन तथा डेनमार्कमा १९९७ देखि २०१८ बीच जन्मिएका बालबालिकाको राष्ट्रिय तथ्यांकमा आधारित ठूलो समूह अध्ययनको विश्लेषण गर्दा पनि एल्युमिनियमको सूक्ष्म मात्राले अटिजमसँग कुनै सम्बन्ध नदेखाएको समितिको निष्कर्ष छ।

यस अघि सन् २००२, २००४ र २०१२ मा दिएका निष्कर्षहरूलाई पुनः दोहोर्याउँदै जिएसीभीएस ले थायोमेरसल वा एल्युमिनियम भएका खोप सहित कुनै पनि खोपले अटिजम नहुने स्पष्ट पारेको छ।

डब्लुएचओले सबै देशका निकायलाई नवीनतम वैज्ञानिक प्रमाणमा आधारित भएर खोप सम्बन्धी नीति बनाउने आग्रह गरेको छ। संगठनका अनुसार पछिल्ला ५० वर्षमा बाल्यकालीन खोप कार्यक्रमले कम्तीमा १५ करोड ४० लाख मानिसको ज्यान जोगाएको छ, जुन सार्वजनिक स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो उपलब्धि मध्ये एक मानिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!