डब्लुएचओको एचआईभी, हेपाटाइटिस बी–सी र यौनजन्य रोगमा औषधि प्रतिरोध रोक्न नयाँ कार्ययोजना सार्वजनिक


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एचआईभी, हेपाटाइटिस बी र सी तथा यौनजन्य रोग (एसटीआई) मा बढ्दै गएको औषधि प्रतिरोध नियन्त्रणका लागि २०२६–२०३० को ‘इन्टिग्रेटेड ड्रग रेसिस्टेन्स एक्शन फ्रेमवर्क’ सार्वजनिक गरेको छ।

डब्लुएचओले यसलाई एड्स र हेपाटाइटिस तथा एसटीआईको महामारी अन्त्य गर्ने लक्ष्य सुरक्षित राख्ने महत्वपूर्ण रोडम्यापका रूपमा प्रस्तुत गरेको छ । डब्लुएचओका अनुसार औषधि प्रतिरोध रोकथाम र उपचार दुवै क्षेत्रमा गम्भीर चुनौती बन्न थालेको छ। तत्काल र समन्वित कदम चालिएन भने नयाँ संक्रमण बढ्ने, उपचार विफलता हुने र रोकथाम गर्न मिल्ने मृत्यु बढ्ने जोखिम उच्च रहने चेतावनी फ्रेमवर्कले दिएको छ। नयाँ कार्ययोजनाले प्रतिरोध उन्मूलन र नियन्त्रणका लागि एकीकृत र व्यक्ति केन्द्रित दृष्टिकोण अघि सारेको छ।

फ्रेमवर्कले पाँच रणनीतिक क्षेत्र तोकेको छ । यस अन्तर्गत रोकथाम र प्रतिकार्य, अनुगमन र निगरानी, अनुसन्धान र नवप्रवर्तन, प्रयोगशाला क्षमता सुदृढीकरण र  शासन तथा कार्यान्वयन सक्षम बनाउने प्रणाली रहेका छन् ।

यसमा एन्टिमाइक्रोबियल स्टेवार्डसिप, बलियो निगरानी प्रणाली, र एचआईभी, हेपाटाइटिस र एसटीआईका लागि गुणस्तरीय रोकथाम, परीक्षण र उपचार सेवामा समान पहुँच सुनिश्चित गर्न जोड दिइएको छ।

‘औषधि प्रतिरोधले एचआईभी, हेपाटाइटिस र एसटीआई नियन्त्रणमा पछिल्ला दशकमा भएको प्रगति नै जोखिममा पारिरहेको छ। यो फ्रेमवर्कले देश, समुदाय र साझेदार सबैलाई साझा कार्यसूचीमा एकजुट हुन आह्वान गर्छ,’ डब्लुएचओको एचआईभी, क्षयरोग, हेपाटाइटिस र एसटीआई विभागकी निर्देशक डा. तेरेजा कासायेवाले भनिन्। ‘सहकार्य मार्फत हामी जीवन रक्षक औषधिको प्रभावकारिता जोगाउन सक्छौं र महामारी अन्त्यतर्फको प्रगतिलाई तीव्र बनाउन सक्छौं।’

यो फ्रेमवर्क डब्लुएचओको ग्लोबल हेल्थ सेक्टर स्ट्राटेजी सँग जोडिएको छ। यसले दिगोपन लक्ष्य र एन्टिमाइक्रोबियल रेसिस्टेन्स विरुद्धको ग्लोबल एक्शन प्लानलाई पनि समर्थन गर्छ। २०२४ को संयुक्त राष्ट्रसंघको उच्च स्तरीय बैठक पछि देखिएको राजनीतिक प्रतिबद्धतालाई यसले कार्यान्वयनमा रूपान्तरण गर्ने बहु क्षेत्रीय मार्गचित्रका रूपमा अघि सारेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!