अनुसन्धान
औलोबाट बच्न नयाँ मोनोक्लोनल एन्टिबडी प्रभावकारी हुन सक्छ

काठमाडौं – हालैको एक अध्ययनले देखाएको छ कि औलो अर्थात् मलेरिया उत्पन्न गर्ने परजीवीको सम्पर्कमा नआएका व्यक्तिहरूलाई नयाँ मोनोक्लोनल एन्टिबडीले सुरक्षा प्रदान गर्न सक्छ। यो अनुसन्धान द ल्यान्सेट इन्फेक्सियस डिजिज पत्रिकामा प्रकाशित भएको हो जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
प्रायोगिक मोनोक्लोनल एन्टिबडी ‘एमएएम०१’ को पहिलो चरणको परीक्षणमा, उच्चतम मात्रा दिइएका स्वस्थ सहभागिहरूमा २६ सातासम्म रगतमा औलोको परजीवी फेला परेन।
मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा बनाइएका विशेष प्रोटिन हुन्। यी शरीरका कोषहरू वा रोगजनक हरूमा रहेका एन्टिजनसँग जडान भएर प्रतिरक्षा प्रतिक्रियालाई सक्रिय वा परिमार्जन गर्ने काम गर्छन्।
युनिभर्सिटी अफ मेरिल्याण्डकी प्राध्यापक कर्स्टन ई. लाइकेका अनुसार, नयाँ खालका खोपहरू उपलब्ध भए पनि तिनको सुरक्षा क्षमता पर्याप्त प्रभावकारी छैन। उनका अनुसार, प्लाज्मोडियम फाल्सीपेरम सर्कम्स्पोरोजोइट प्रोटिनलाई लक्ष्य गर्ने मोनोक्लोनल एन्टिबडीले मलेरिया रोकथामलाई अझ सरल बनाउन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का तथ्यांकअनुसार, सन् २०२३ मा करिब २६ करोड ३० लाख मानिस औलोबाट प्रभावित भए भने झण्डै ५ लाख ९७ हजार मानिसले ज्यान गुमाए। पाँच वर्षभन्दा कम उमेरका बालबालिका विशेष रूपमा संवेदनशील पाइएका छन्।
अगस्ट २०२३ देखि डिसेम्बर २०२४ सम्म गरिएको परीक्षणमा १८ देखि ५० वर्ष उमेर समूहका ३७ जना वयस्कलाई अनियमित (रैन्डम) तरिकाले एन्टिबडी वा प्लेसीबोको एकल मात्रा दिइयो। अध्ययनमा ‘एमएएम०१’ को एक वा दुई मात्रा दिइए पछि कुनै गम्भीर नकारात्मक प्रभाव देखिएको छैन।
प्रतिक्रिया दिनुहोस