डब्लुएचओको आवश्यक औषधि सूचीमा नयाँ मोड: जीवनरक्षक क्यान्सर, मधुमेह, मोटोपनविरुद्धका औषधिहरू समावेश

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आवश्यक औषधिहरूको सूची (एसेन्सियल मेडिसिन लिस्ट) र बालबालिकाका लागि आवश्यक औषधिहरूको सूचीको नयाँ संस्करण सार्वजनिक गरेको छ। यस पटक क्यान्सर, मधुमेह र मोटोपन सँग सम्बन्धित औषधिहरू समेत सूचीमा थपिएका छन्। यस्तै सिस्टिक फाइब्रोसिस, सोरायसिस, हेमोफिलिया र रगत सम्बन्धी रोगका लागि प्रयोग हुने नयाँ औषधिहरू पनि समावेश गरिएका छन्।
यो नयाँ सूची एसेन्सियल मेडिसिन लिस्टको २४औं संस्करण र बालबालिकाका लागि आवश्यक औषधिहरूको सूचीको १०औं संस्करण हो। हाल सम्म १५० भन्दा बढी देशहरूले आफ्ना स्वास्थ्य नीतिमा यी सूचीलाई आधार बनाएका छन्।
डब्ल्यूएचओका स्वास्थ्य प्रणाली, पहुँच र तथ्यांक विभागका सहायक महानिर्देशक डा. युकिको नाकातानीले भने, ‘नयाँ सूचीले प्रमाणित क्लिनिकल लाभ भएका औषधिहरूको पहुँच विस्तार गर्न ठूलो कदम चालिएको छ, जसले विश्वव्यापी जनस्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।’
क्यान्सर उपचारका औषधिहरू
क्यान्सर विश्व व्यापी मृत्युको दोस्रो प्रमुख कारण हो, जसका कारण प्रत्येक वर्ष झण्डै १ करोड मानिसको ज्यान जाने गरेको छ। यस पटक डब्ल्यूएचओले पीडी-१/पीडी-एल१ इम्युन चेकप्वाइन्ट इनहिबिटर नामक नयाँ वर्गका इम्युनोथेरापी औषधिहरूलाई सूचीमा थपेको छ। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोशिका विरुद्ध प्रभावकारी रूपमा सक्रिय गर्छ।
पेम्ब्रोलिजुमाबलाई गर्भाशय मुखको क्यान्सर, कोलोरेक्टल क्यान्सर र नन स्मल सेल फोक्सो क्यान्सरको उपचारमा पहिलो पंक्तिको औषधि रूपमा सूचीमा राखिएको छ। यस बाहेक, एटेजोलिजुमाब र सेमिप्लिमाबलाई विकल्पका रूपमा समावेश गरिएको छ।
मधुमेह र मोटोपन उपचार
डब्ल्यूएचओले मधुमेह र मोटोपनलाई हालको विश्वका सबै भन्दा चुनौतीपूर्ण स्वास्थ्य समस्या मानेको छ। सन् २०२२ सम्ममा ८० करोड मानिस मधुमेह सँगै बाँचिरहेका थिए, जस मध्ये आधा भन्दा बढी उपचार विहीन छन्। मोटोपनले पनि विश्व भर १ अर्ब भन्दा बढी मानिसलाई प्रभावित पारेको छ।
यस लाई लक्षित गर्दै डब्ल्यूएचओले जीएलपी–१ रिसेप्टर एगोनिस्ट र जीएलपी–१/जीआईपी डुअल रिसेप्टर एगोनिस्ट जस्तै औषधिहरू लाई सूचीमा थपेको छ । यी औषधिहरू टाइप–२ मधुमेहका बिरामीहरूका लागि प्रभावकारी मानिएका छन्, विशेष गरी मुटु वा मृगौलामा समस्या भएका बिरामीका लागि। सेमाग्लुटाइड, डुलाग्लुटाइड, लिराग्लुटाइड र टिर्जेपाटाइड जस्ता औषधिहरू अब आवश्यक औषधिको सूचीमा परेका छन्।
तर यी औषधिहरूको उच्च मूल्यले पहुँचमा अवरोध बनाएको डब्ल्यूएचओले जनाएको छ। मूल्य घटाउनका लागि जेनेरिक उत्पादनलाई प्रोत्साहन गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमै उपलब्ध गराउने र पहुँच नभएका क्षेत्रमा प्राथमिकता दिने रणनीतिमा जोड दिइएको छ।
डब्ल्यूएचओका औषधि नीति तथा मापदण्ड निर्देशक ड्यूसडेदीट मुबान्गिजीका अनुसार, ‘नसर्ने रोगसँग सम्बन्धित औषधिमा मानिसहरूले सबै भन्दा धेरै खर्च गर्नु पर्ने हुन्छ। आवश्यक औषधिको पहुँचलाई सबैका लागि बराबर बनाउन राजनीतिक इच्छाशक्ति, बहुआयामिक सहकार्य र सर्वजनमुखी कार्यक्रम अत्यावश्यक छ।’
यसरी, डब्ल्यूएचओको नयाँ सूचीमा हाल वयस्कका लागि ५२३ र बालबालिकाका लागि ३७४ आवश्यक औषधिहरू समावेश भएका छन ।
प्रतिक्रिया दिनुहोस