अनुसन्धान

नयाँ औषधि ‘ब्याक्सड्रोस्टेट’ ले नियन्त्रण गर्न कठिन उच्च रक्तचापमा आशाजनक परिणाम


काठमाडौं -उच्च रक्तचाप (ब्लड प्रेसर) नियन्त्रण गर्न कठिन हुने बिरामीका लागि गरिएको एक अन्तर्राष्ट्रिय अनुसन्धानमा नयाँ औषधि ब्याक्सड्रोस्टेट प्रभावकारी देखिएको छ ।

लामो समय सम्म औषधि खाए पनि उच्च रक्तचाप नियन्त्रणमा नआउने बिरामीका लागि ‘ब्याक्सड्रोस्टेट’ (Baxdrostat) औषधिले आशा जनक नतिजा देखाएको हो ।

विश्व भर करिब १ अर्ब ३० करोड मानिस उच्च रक्तचाप (हाइपरटेन्सन) बाट पीडित छन्। ती मध्ये करिब आधा केसहरूमा ब्लड प्रेसर नियन्त्रणमा आउँदैन वा उपचारको असर देखिँदैन । यस्ता बिरामीलाई मुटु रोग, स्ट्रोक, मिर्गौला समस्या र अकाल मृत्युको जोखिम धेरै हुन्छ ।

यो अनुसन्धान लन्डन स्थित युनिभर्सिटी कलेज को कार्डियो भास्कुलर साइन्स इन्स्टिच्युटले सञ्चालन गरेको हो  । अनुसन्धानको परिणाम न्यू इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिन मा प्रकाशित गरिएको छ । न्यू इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिन मा प्रकाशित अनुसन्धान बारे पढ्न यहाँ क्लिक गर्नुस्।

अनुसन्धानमा १४० देखि १७० एमएम एचजी सम्मको सिस्टोलिक ब्लड प्रेसर भएका ७९६ बिरामी सहभागी भए। यी सबैले पहिले नै २ वा ३ भन्दा बढी ब्लड प्रेसर कम गर्ने औषधि खाइरहेका थिए, तर दबाब सामान्य स्तरमा झरेको थिएन।

१२ हप्ता सम्मको परीक्षण पछि, ब्याक्सड्रोस्टेट सेवन गर्ने बिरामीमा ब्लड प्रेसर औसतमा १४–१६ एमएम एचजी ले घट्यो। तुलनात्मक रूपमा प्लेसीबो सेवन गर्नेमा भने ५–६ एमएम एचजी मात्र घट्यो। यसरी, ब्याक्सड्रोस्टेट ले प्लेसीबो भन्दा करिब ९ एमएम एचजी बढी ब्लड प्रेसर घटाएको पाइएको छ। यो कमी मुटु सम्बन्धी रोगको जोखिम घटाउन पर्याप्त हुने बताइएको छ।

परीक्षण अनुसार १० मध्ये ४ जना बिरामीको ब्लड प्रेसर सामान्य स्तरमा पुगेको थियो, जबकि प्लेसीबो (नकली औषधि) लिनेमा यो दर १० मध्ये २ मात्र थियो ।

तर, केही बिरामीमा पोटासियमको स्तर बढ्ने जस्ता साइड इफेक्ट पनि देखिएका छन्। १ मिग्रा खुराकमा करिब २.३% र २ मिग्रा खुराकमा करिब ३% बिरामीमा यस्तो समस्या देखियो ।

शोधकर्ताहरूका अनुसार, हालका उपचारले काम नगरेका कठिन केसहरूमा यो औषधिले नयाँ विकल्प दिन सक्छ। सरल भाषामा भन्नुपर्दा, यो औषधिले अरू औषधिले काम नचलेको बेला पनि ब्लड प्रेसर घटाउन सहयोग गर्ने सम्भावना देखाएको छ, तर अझै थप अनुसन्धान र निगरानी आवश्यक छ।

प्रोफेसर ब्रायन विलियम्सका अनुसार, ब्याक्सड्रोस्टेट सेवन गर्दा देखिएको करिब १० एमएमएचजी को कमी निकै महत्त्वपूर्ण हो, किनकि यस स्तरले हर्ट एटैक, स्ट्रोक, मुटु फेलियर र मिर्गौला रोगको जोखिम घटाउन मद्दत गर्छ। अनुसन्धानकर्ताहरूले यस लाई उच्च रक्तचाप नियन्त्रणका लागि नयाँ विकल्पको रूपमा हेरिएको बताएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!