एक डाक्टर, सयौं हत्या, अनि मगरमच्छहरूलाई खुवाइएका शव: ‘डाक्टर डेथ’को पर्दा पछाडिको भयङ्कर कथा

नयाँ दिल्ली (ब्युरो) – दक्षिण दिल्ली, एक साँझ। प्रहरीको विशेष टोलीद्वारा राजस्थानको दौसा जिल्लामा एउटा शान्त आश्रम घेरिन्छ। त्यहाँ सत्सङ्ग गर्दै बसेको एक ‘पुजारी’लाई प्रहरीले अचानक नियन्त्रणमा लिन्छ। आश्रमका अनुयायीहरू चकित छन्-किन भने यो सामान्य साधु होइन। यो व्यक्ति हो, भारतकै कुख्यात शृंखलाबद्ध हत्यारा -‘डाक्टर डेथ’ देवेन्द्र शर्मा।
कुनै समय आयुर्वेद चिकित्सकका रूपमा ‘बीएएमएस’ पास गरेका शर्मा अहिले भारतका तीन राज्यमा हत्याका अभियोगमा जन्म कैदको सजाय काटिरहेका एक खतरनाक अपराधी हुन्। तर कथा यत्तिमै सकिँदैन। उनले जुन तरिकाले अपराध गरे -त्यो सुन्दा आङ्ग सिरिङ्ग हुन्छ।
कल्पना पनि गर्न नसकिने हत्याको शैली
शर्मा र उनका सहयोगीहरू ट्याक्सी तथा ट्रक चालकहरू लाई फर्जी ट्रिपको झुटो प्रस्ताव दिँदै बोलाउँथे। जब चालकहरू उनीहरूको जालमा फस्दै आउँथे, उनीहरू लाई निर्ममतापूर्वक हत्या गरिन्थ्यो। अनि शवहरू ? हजारा नहरमा फालिन्थ्यो, जहाँको पानी मगरमच्छ (गोही) हरूले भरिएको छ। कुनै प्रमाण बाँकी नरहोस् भन्ने निर्दयी योजना।
केवल हत्यारा मात्र होइन – मानव अंगको कालो कारोबारी
सन १९९८ देखि २००४ सम्म, डा. देवेन्द्र शर्माले भारत भरि फैलिएको अवैध किड्नी प्रत्यारोपण र्याकेट चलाए। उनले १२५ भन्दा बढी अवैध प्रत्यारोपण गराएको खुलेको छ – कति मानिसहरू लाई बर्बाद पारियो, कुनै तथ्याङ्क छैन।
अपराधको सुरुआत घाटाबाट, अन्त्य जेलमै हुने देखिन्छ
सन १९९४ मा ग्यास डिलरशिपको ठुलो घाटापछि डा. देवेन्द्र अपराधको बाटोमा लागे। शुरुमा झूटा ग्यास एजेन्सी, पछि अंग तस्करी र अन्ततः – मानव हत्या।
एक पटक होइन, पटक-पटक भागे जेलबाट
सन् २०२० मा उनी २० दिनको पैरोल लिएर फरार भए र सात महिना पछि मात्र पुलिसद्वारा समातिए। फेरि, जुन २०२३ मा उनलाई पुन: दुई महिनाको पैरोल दिइयो र ३ अगस्ट पछि उनी फेरि बेपत्ता। तब दिल्ली प्रहरीको क्राइम ब्राञ्चले उनलाई ट्र्याक गर्न सुरु गर्यो । अलिगढ, जयपुर, आगरा, प्रयागराज हुँदै अन्ततः दौसा पुगेर समातियो।
मृत्युदण्ड सम्मको सजाय, तर अझै उ निक्लिन्छ पुजारी बनेर
दिल्ली, राजस्थान र हरियाणाका सात छुट्टा छुट्टै हत्यामा जन्म कैदको सजाय पाइसकेका शर्मा गुडगाँवको एक मुद्दामा मृत्युदण्ड भोग्दै छन्। तर यति सजिलो छैन उनको कथा समाप्त हुनु। आश्रममा साधुको वेषमा, झूटा नाममा, अध्यात्मको लुगा ओढेर उनी समाजकै आँखामा धूलो हाल्दै लुकेका थिए।
तर अब पर्दा उठि सकेको छ। ‘डाक्टर डेथ’ फेरि प्रहरीको नियन्त्रणमा छन्। अनि उनको कथा? त्यो अझै अनेक रहस्य, अँध्यारा र त्रासद मोडहरूका साथ अघि बढिरहेकै छ।
प्रतिक्रिया दिनुहोस