७८ औं विश्व स्वास्थ्य सम्मेलन

स्वास्थ्य मन्त्री पौडेलको विश्व स्वास्थ्य सम्मेलनमा आह्वान : ‘समान स्वास्थ्य पहुँचका लागि विश्वव्यापी सहकार्य अपरिहार्य’


जेनेभा – ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सबैलाई गुणस्तरीय र समान स्वास्थ्य सेवा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारी, मानसिक स्वास्थ्य, नसर्ने रोग तथा जलवायु परिवर्तनका असर जस्ता जटिल चुनौतीहरू समाधान गर्नका लागि साझा रणनीति र सहयोग अपरिहार्य रहेको बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को भूमिकालाई महत्वपूर्ण ठहर गर्दै उनले महामारी नियन्त्रण सम्बन्धी विश्वव्यापी सम्झौता प्रति समर्थन जनाए।

नेपालका सफलताहरू विश्व माझ प्रस्तुत

स्वास्थ्य मन्त्री पौडेलले मातृ र शिशु मृत्यु दरमा आएको गिरावट, पोलियो उन्मूलनमा नेपालले हासिल गरेको प्रगति तथा खोप पहुँच विस्तार जस्ता क्षेत्रहरूमा नेपालले गरेका सफल प्रयासहरूबारे सम्मेलनलाई जानकारी गराए।

उनले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम र विद्यालय स्वास्थ्य पहलहरूबाट आएका सकारात्मक परिणामहरू उल्लेख गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणमा समेत नेपालले थालनी गरेको पहलको चर्चा गरे।

भविष्यका प्राथमिकता : बीमा, डिजिटल स्वास्थ्य र पूर्वतयारी

स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन, डिजिटल स्वास्थ्य सेवाको विस्तार, तथा महामारी नियन्त्रणका लागि पूर्व तयारी प्रणाली बलियो बनाउने तर्फ सरकार गम्भीर रहेको उनको भनाइ थियो।

जलवायु परिवर्तन र स्वास्थ्य : नेपाली अनुभव

जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखिएको नकारात्मक असर प्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै मन्त्री पौडेलले ‘सगरमाथा संवाद’ जस्ता पहलहरू बाट नेपालले ग्लोबल एजेन्डामा विषयलाई उठाएको स्मरण गराए। उनले जलवायु र स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना पनि सार्वजनिक गरे।

उच्चस्तरीय भेटवार्ता

सम्मेलनकै सन्दर्भमा मन्त्री पौडेलले विभिन्न राष्ट्रका स्वास्थ्य अधिकारीहरू सँग द्विपक्षीय भेटवार्ता गरी नेपालको स्वास्थ्य प्रणालीमा सुधारका सम्भावित साझेदारी र सहकार्यका विषयमा छलफल गरिरहेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!