नेप्लीज सोसाइटी अफ स्लीप डिसअर्डर्स
निद्राजन्य विकार सामना गर्न सचेतना र अनुसन्धान आवश्यक : उपराष्ट्रपति
काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा बढ्दै गएको निद्राजन्य विकारको समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सार्वजनिक सचेतना र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा ‘नेप्लीज सोसाइटी अफ स्लीप डिसअर्डर्स’ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वस्थ निद्राले शरीर, मानसिक अवस्था र प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा नीति निर्माताको सहभागिता थियो।
उपराष्ट्रपति यादवका अनुसार शहरीकरण, दैनिको तनाव, बेरोजगारी, आर्थिक असुरक्षा, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोग जस्ता कारणले नेपालमा स्लीप डिसअर्डरको जोखिम बढ्दो छ। उनले मधुमेह, उच्च रक्तचाप र मानसिक स्वास्थ्य समस्याले पनि निद्रामा गम्भीर प्रभाव पारिरहेको बताए।
उनले नियमित जीवनशैली, ध्यान, योग, व्यायाम र आवश्यकता अनुसार विशेषज्ञसँग परामर्श लिनुपर्छ भने। यी उपायले निद्राजन्य समस्याबाट हुने असरलाई कम गर्न मद्दत गर्ने उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले विद्यालयदेखि समुदायसम्म निद्रा सम्बन्धी शिक्षा विस्तार गर्ने, नेपालमै स्लीप मेडिसिनमा विशेषज्ञ तयार गर्ने, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई समावेश गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, देशमै आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय सहकार्य मजबुत बनाउन पनि उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस