सङ्क्रमण कम गर्न अस्पतालमा हरेक दिन फरक रंगको बेडशीट


नयाँ दिल्ली (ब्युरो)– दिल्ली सरकारले सरकारी अस्पतालहरूमा स्वच्छता र संक्रमण नियन्त्रण सुधार्न रंग कोडिङ बेडशीट प्रणाली लागू गरेको छ। अब अस्पतालका बेडमा हरेक दिन फरक रंगको बेडशीट प्रयोग हुनेछ।

सरकारका अनुसार ‘कायाकल्प’ पहल अन्तर्गत सुरु गरिएको यो व्यवस्था मनोवैज्ञानिक रूपमा पनि बिरामीलाई सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेर अघि बढाइएको हो।

निर्धारित तालिका अनुसार सोमबार सेतो, मंगलबार गुलाबी, बुधबार हरियो, बिहीबार बैजनी, शुक्रबार निलो, शनिबार फिका ग्रे र आइतबार पीच रंगको बेडशीट प्रयोग गरिनेछ।

स्वास्थ्य मन्त्री डा. पंकजकुमार सिंहले साताका प्रत्येक दिन फरक रंगको बेडशीट अनिवार्य गर्ने निर्णय तत्क्षण प्रभाव सहित लागू भएको बताए। उनले सबै अस्पताललाई दिन अनुसार अलग अलग रंगको बेडशीट राख्न र नियमित रूपमा फेर्न निर्देशन दिइएको बताए। उनका अनुसार यसले लिनेन व्यवस्थापन सहज बनाउनेछ र दैनिक सफा बेडशीट बदलिँदा संक्रमणको जोखिम पनि घट्नेछ।

सरकारले सबै अस्पतालमा सातै दिनका लागि पर्याप्त रंगका स्टक उपलब्ध गराएको छ। मन्त्री सिंहका अनुसार नयाँ लिनेन खरिदका क्रममा गुणस्तर र एकरूपता दुवैमा ध्यान दिइएको छ।

गाइडबुकमा फोहोर वा संक्रमित लिनेनको छुट्टै ह्यान्डलिङ, छुट्टै परिवहन र तातो पानी तथा डिटर्जेन्ट प्रयोग गरेर धुने जस्ता अनिवार्य प्रोटोकल समावेश छन्। सरकारका अनुसार रंग कोडिङ प्रणालीले यी प्रक्रियाको पालना सरल बनाउनेछ र स्टाफलाई बेडशीट रोटेसन व्यवस्थित गर्न सहयोग पुग्नेछ, जसले अस्पतालमा उच्च स्तरको स्वच्छता कायम रहन मद्दत गर्नेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!