राजविराज घटना: ‘नियन्त्रण बाहिरको दुर्घटनामा पनि चिकित्सक माथि आक्रमण अस्वीकार्य’
काठमाडौं – सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आइतबार भएको कुटपिट र तोडफोडको घटना प्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघका अनुसार अस्पतालको एनआइसीयूमा विद्युत सर्ट भएर एलईडी लाइट खस्दा नवजात शिशु घाइते भएको घटना चिकित्सकहरूको नियन्त्रण बाहिरको दुर्घटना भए पनि, त्यसैको आधारमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप साह माथि बिरामीका आफन्तले आक्रमण गरेका छन ।
संघले विज्ञप्ति जारी गर्दै यस प्रकारका आपराधिक र निन्दनीय घटनाले चिकित्सक र स्वास्थ्यकर्मीहरू को मनोबलमा ठुलो आघात पुर्याउने र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पार्ने जनाएको छ। ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भय र आतंक सिर्जना गर्ने काम कुनै हालतमा स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल चिकित्सक संघले दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार कानूनी कारबाही गर्न माग गरेको छ। साथै, देश भरका स्वास्थ्यकर्मीहरू सुरक्षित र भय रहित वातावरणमा सेवा दिन सक्ने सुनिश्चितता गर्न सरकारसँग जोडदार आग्रह गरेको छ ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकहरूको नियन्त्रण बाहिरको घटनामा समेत उनीहरू दुर्व्यवहार र आक्रमणको सिकार हुनु अत्यन्त दुःखद र अस्वीकार्य अवस्था हो।’

प्रतिक्रिया दिनुहोस