नेपालमा सबै भन्दा बढी मृगौला र कलेजो प्रत्यारोपण गर्ने डा. पुकार चन्द्र श्रेष्ठ सरकारी सेवाबाट निवृत्त

काठमाडौं – मुलुकमै सबैभन्दा बढी मृगौला र कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक तथा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ मंगलबार देखि सरकारी सेवाबाट निवृत्त भएका छन्।
उनको ३३ वर्ष ७ महिना १३ दिनको सरकारी जागिरे यात्रा सकिएको छ । डा.पुकारको सम्मानमा प्रत्यारोपण केन्द्रले मंगलबार एक विशेष विदाई कार्यक्रम आयोजना गरेको हो।
बागलुङमा जन्मिएका डा. श्रेष्ठले आफ्नो चिकित्सा शिक्षा बंगलादेश देखि बेलायतसम्म पूरा गरे। बेलायतको प्रसिद्ध, फ्रीमन हस्पिटल, न्युकेसलमा वरिष्ठ रजिष्ट्रारको स्थायी पद त्यागेर उनी स्वदेश फर्किए। यो निर्णय व्यक्तिगत रोजाइ मात्र थिएन, बरु हजारौ नेपालीका लागि जीवन र आशाको नयाँ ढोका खोल्ने ऐतिहासिक कदम बनेको थियो।
भक्तपुर स्थित प्रत्यारोपण केन्द्र स्थापना भएको १३ वर्षको अवधिमा उनले नेतृत्व दिँदै संस्थालाई शून्य अवस्था बाट शिखरसम्म पुर्याएका छन्। हाल सम्म केन्द्रले झन्डै १५ सय भन्दा बढी मृगौला प्रत्यारोपण जसको सफलता दर ९९ प्रतिशत रहेको छ, यो विश्व स्तरमै गौरव गर्ने उपलब्धि हो। यस्तै मुलुकमै सबैभन्दा बढी ३५ कलेजो प्रत्यारोपण समेत सम्पन्न गर्न सफल भएको छ।
नेपालमा अंग प्रत्यारोपण क्षेत्रमा अग्रणी मानिएका डा. श्रेष्ठले कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका अंगदाताबाट प्रत्यारोपण प्रक्रिया सुरु गर्ने इतिहास रचेका हुन्। उनले नेपालमै पहिलो पटक मस्तिष्क मृत दाताबाट एउटै व्यक्तिमा कलेजो र मृगौला दुवै प्रत्यारोपण गरी महत्त्वपूर्ण उपलब्धि हासिल गरेका थिए। यस्तै, एउटै व्यक्तिमा तेस्रो पटक मृगौला प्रत्यारोपण गर्ने सफल शल्य चिकित्सकका रूपमा पनि उनी परिचित छन्।
डा. श्रेष्ठको योगदान केवल शल्यक्रियामा सीमित रहेन। उनले सरकार सँग सहकार्य गर्दै डायलासिस र मृगौला प्रत्यारोपण निःशुल्क बनाउन महत्त्वपूर्ण भूमिका खेले। आज देशभर सय भन्दा बढी केन्द्रमा डायलासिस सेवा उपलब्ध छ र चार प्रदेशमा प्रत्यारोपण सेवा विस्तार भइसकेको छ।
उनले प्रत्यारोपण सम्बन्धी ऐनलाई आधुनिक बनाउन अगुवाइ गरे। सन् २०१६ को संशोधित ऐनमार्फत बहु–अंग प्रत्यारोपण, पेयर एक्सचेन्ज सुविधा र ब्रेन–डेथ डोनर कार्यक्रम । कानुनी रूपमा स्थापित भयो। यसले नेपाललाई प्रत्यारोपण क्षेत्रमा आत्मनिर्भर बनाउन बलियो आधार तयार गर्यो।
तर यति हुँदा हुँदै उनको एउटा सपना भने अधुरो नै रह्यो । डा. श्रेष्ठको दीर्घकालीन योजना ५०० शैय्याको राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान स्थापना गर्ने थियो। उनले सरकार संग निरन्तर पहल गरे पनि आफनो कार्यकाल मै यसलाई साकार बनाउन सकेनन्। तर भविष्यमा यो योजना पूरा भए नेपाल दक्षिण एसियाकै अग्रणी प्रत्यारोपण गन्तव्य बन्नेछ।
डा. पुकार चन्द्र श्रेष्ठको जीवन यात्रा केवल एक सफल चिकित्सकको व्यावसायिक कथा होइन। यो सामाजिक दायित्व, मानवता र राष्ट्रिय गौरव सँग गहिरो रूपमा जोडिएको प्रेरणादायी यात्रा हो। उनले हजारौँ बिरामीलाई नया जीवन दिएका छन्, असंख्य परिवारलाई आशा जगाएका छन्, र सम्पूर्ण समाजलाई ‘अंगदान जीवनदान हो’ भन्ने सन्देश दिएका छन्।
प्रतिक्रिया दिनुहोस