शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा १,५०० मृगौला र ३५ कलेजो प्रत्यारोपण सफल

काठमाडौँ– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापना भएको १३ वर्षमा १,५०० मृगौला र ३५ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। राष्ट्रिय सभा गृहमा सोमबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सो उपलब्धि सार्वजनिक गरिएको हो।
केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठका अनुसार, २०६९ माघ ६ गतेदेखि सुरु भएको सेवाले औसतमा हरेक वर्ष करिब २०० प्रत्यारोपण गर्दै १५००औँ मृगौला प्रत्यारोपण सम्पन्न गर्न सफल भएको हो। उनले यसलाई छोटो समयमा प्राप्त ऐतिहासिक उपलब्धि भन्दै यसमा चिकित्सक, नर्स, कर्मचारी, पत्रकार, राजनीतिज्ञ, कलाकार तथा समाजसेवी सबैको योगदान रहेको बताए।
डा. श्रेष्ठले केन्द्रले पहिलो पटक नेपालमै कलेजो प्रत्यारोपण, एउटै दिन चार जनामा जीवित दाताबाट मृगौला प्रत्यारोपण, मस्तिष्क मृत दाताबाट मृगौला र कलेजो प्रत्यारोपण, एउटै व्यक्तिमा तेस्रो पटक मृगौला प्रत्यारोपण जस्ता काम गरेर इतिहास रचेको उल्लेख गरे।
कार्यक्रममा मस्तिष्क मृत्यु पश्चात हुने अंग दान तथा प्रत्यारोपण समन्वय इकाईका राष्ट्रिय संयोजक तथा केन्द्रकी प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. कल्पना कुमारी श्रेष्ठले हाल सम्म मस्तिष्क मृत व्यक्तिबाट प्राप्त अंग अत्यन्तै न्यून रहेको जनाइन्। उनको भनाइमा, ९ वर्षमा जम्मा ७ दाताबाट १३ मृगौला, ४ कलेजो र १ संयुक्त मृगौला कलेजो प्रत्यारोपण गरी १८ जनालाई मात्र जीवन दिन सकिएको छ।
अंगदाता शान्ति गुरुङले आफ्नी बुहारीलाई अंगदान गरेर जीवन बचाएको अनुभव सुनाउँदै सबैलाई पुण्यको कामका लागि अंगदानमा सहभागी हुन आग्रह गरिन्। अंग ग्रहणकर्ता सकल्प खड्काले कलेजो दान गर्ने परिवार प्रति कृतज्ञता व्यक्त गर्दै मस्तिष्क मृत्यु पश्चात अंगदानको महत्त्व समाजमा फैलाउन सबै एकजुट हुनुपर्ने बताए।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले केन्द्रले प्रत्यारोपण क्षेत्रमा गरेको कामको उच्च मूल्यांकन गर्दै आगामी दिनमा प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर दक्ष जनशक्ति उत्पादन गर्ने योजना रहेको जानकारी दिए। उनले प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको पनि बताए।
समारोहका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले केन्द्रले गरेको ऐतिहासिक उपलब्धिमा गौरव व्यक्त गर्दै अंगदाता र उनीहरूको परिवारलाई विशेष सम्मान प्रकट गरे। उनले प्रत्यारोपण सेवा अझै सबल बनाउन र सबैको पहुँचमा पुर्याउन सरकार गम्भीर रहने आश्वासन दिए। साथै, निरन्तर समर्पण र पेशागत दक्षताका साथ काम गर्दै आएका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा केन्द्रसँग जोडिएका सबैलाई बधाई पनि दिए।
प्रतिक्रिया दिनुहोस