विश्व पानी सप्ताह
विश्वमा अझै प्रत्येक चार मध्ये एक जना (२.१ अर्ब) ले सुरक्षित खानेपानी पाउन सकेनन् : डब्लुएचओ र युनिसेफ

काठमाडौं – विश्वमा हरेक चार मध्ये एक जनाले अझै सुरक्षित खानेपानी पाउन सकेका छैनन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले विश्व पानी सप्ताह २०२५ को अवसरमा सार्वजनिक गरेको प्रतिवेदनमा अर्बौँ मानिस अझै खानेपानी, सरसफाइ र स्वच्छताको आधारभूत सेवाबाट वञ्चित रहेको चेतावनी दिएको हो।
‘प्रोग्रेस अन हाउसहोल्ड ड्रिंकिङ वाटर एन्ड स्यानिटेशन २०००–२०२४’ नामक प्रतिवेदन अनुसार विश्व भर २.१ अर्ब मानिस सुरक्षित खानेपानी पहुँच बाहिर छन्। ती मध्ये १० करोड ६० लाख मानिसले अझै पनि नदी, खोला जस्ता प्रशोधन नभएका सतही स्रोतबाटै पानी पिउन बाध्य छन्।
प्रतिवेदनका तथ्यांक अनुसार ३.४ अर्ब मानिस सँग सुरक्षित शौचालय सुविधा छैन। जसमा ३५ करोड भन्दा बढी मानिस अझै खुलेआम दिसा गर्ने गर्छन्। त्यस्तै १.७ अर्ब मानिससँग घरमै आधारभूत स्वच्छता सेवा छैन।
सबै भन्दा कम विकसित देशका बासिन्दा अन्य मुलुकका तुलनामा दुई गुणा बढी खानेपानी र सरसफाइ सेवाबाट वञ्चित छन् भने तीन गुणा बढी आधारभूत स्वच्छता सुविधाबाट टाढा छन्। द्वन्द्व ग्रस्त वा कमजोर अवस्थाका देशहरूमा सुरक्षित खानेपानीको पहुँच अन्य मुलुक भन्दा ३८ प्रतिशत ले कम रहेको प्रतिवेदनले देखाएको छ।
गाउँमा केही सुधार भए पनि अझै पछि परेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१५ मा गाउँमा सुरक्षित खानेपानीको पहुँच ५० प्रतिशत रहेकामा २०२४ मा बढेर ६० प्रतिशत पुगेको छ। तर शहरमा भने खासै प्रगति देखिएको छैन।
युनिसेफका तथ्यांक अनुसार धेरै मुलुकमा महिला र किशोरीहरू नै पानी ल्याउने जिम्मेवारीमा छन्। सहारा अफ्रिका र दक्षिण एशियामा उनीहरूले दैनिक ३० मिनेट भन्दा बढी समय पानी ल्याउन खर्च गर्ने गरेका छन्। महिनावारी अवधिमा किशोरी केटीहरू विद्यालय, काम वा सामाजिक गतिविधिमा वयस्क महिलाभन्दा कम सहभागी हुने गरेको तथ्याङ्कले देखाएको छ।
‘पानी, सरसफाइ र स्वच्छता विलासिता होइन, यो आधारभूत मानव अधिकार हो। सबै भन्दा वञ्चित समुदायका लागि छिटो कदम चाल्न जरुरी छ,’ विश्व स्वास्थ्य संगठनका डा. रुडिगर क्रेकले बताएका छन्।
त्यस्तै युनिसेफकी अधिकारी सेसिलिया शार्पले बालबालिकाले सुरक्षित खानेपानी र सरसफाइ नपाउँदा स्वास्थ्य सँगै शिक्षा र भविष्य समेत जोखिममा पर्ने चेतावनी दिएकी छन्।
प्रतिवेदनले सन् २०३० सम्म खुला दिसा अन्त्य गर्ने तथा सबैलाई आधारभूत पानी, सरसफाइ र स्वच्छता सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्न तत्काल कदम चाल्न आवश्यक रहेको निष्कर्ष निकालेको छ।
प्रतिवेदनका प्रमुख तथ्यहरू
- विश्वभर २.१ अर्ब मानिस (प्रत्येक ४ मध्ये १) अझै सुरक्षित खानेपानीको पहुँच बाहिर छन्। तीमध्ये १० करोड ६० लाख मानिसले अझै नदी, खोलाजस्ता प्रशोधन नभएका सतही स्रोतबाटै पानी पिउँछन्।
- ३.४ अर्ब मानिससँग सुरक्षित शौचालय छैनन्, जसमा ३५ करोड ४० लाख मानिस खुलेआम दिसा गर्छन्।
- १.७ अर्ब मानिससँग घरमै आधारभूत स्वच्छता सेवा छैन।
- सबै भन्दा कम विकसित देशका बासिन्दा अन्य देशका तुलनामा दुई गुणा बढी सुरक्षित खानेपानी र सरसफाइ सेवाबाट वञ्चित छन्।
- कमजोर र द्वन्द्वग्रस्त देशहरूमा खानेपानीको पहुँच अन्य देशभन्दा ३८ प्रतिशत अंकले कम छ।
- गाउँका क्षेत्रमा केही सुधार भए पनि अझै पछाडि छन्। २०१५ मा ५० प्रतिशत मात्रै सुरक्षित खानेपानीको पहुँच भए पनि २०२४ मा ६० प्रतिशतमा पुगेको छ। तर शहरमा भने खासै प्रगति भएको छैन।
- धेरै देशमा महिला र किशोरी केटीहरू नै पानी ल्याउने जिम्मेवारीमा छन्। सहारा-तल अफ्रिका र दक्षिण एशियामा उनीहरूले दिनमा ३० मिनेटभन्दा बढी समय पानी ल्याउन खर्च गर्छन्।
- १५–१९ वर्षका किशोरी केटीहरू महिनावारी अवधिमा विद्यालय, काम वा सामाजिक गतिविधिमा सहभागी हुन वयस्क महिलाभन्दा कम सक्रिय देखिन्छन्।
प्रतिक्रिया दिनुहोस