शारीरिक दण्डले बालबालिकाको स्वास्थ्य र विकासमा गम्भीर असर: डब्ल्यूएचओको नयाँ रिपोर्ट

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको नयाँ रिपोर्टले बालबालिका माथि हुने शारीरिक दण्ड अझै विश्वव्यापी रूपमा प्रचलनमा रहेको र यसले बालबालिकाको स्वास्थ्य र विकासलाई गम्भीर असर पारिरहेको तथ्य प्रस्तुत गरेको छ।
रिपोर्ट अनुसार विश्व भर ० देखि १८ वर्ष उमेरका करिब १.२ अर्ब बालबालिका हरेक वर्ष आफ्नै घरमै शारीरिक दण्डको शिकार हुने गर्छन्। ५८ देशमा संकलित तथ्यांकले देखाउँछ कि गत महिना भित्र शारीरिक दण्ड भोगेका १७ प्रतिशत बालबालिका ‘सबै भन्दा कठोर’ किसिमका हिंसामा परेको पाइएको छ, जसमा टाउको, अनुहार वा कानमा प्रहार गर्नु वा बारम्बार कडा प्रहार गर्नु समावेश छ।
देश अनुसार भिन्न अवस्था
२ देखि १४ वर्ष उमेर समूहका बालबालिका माथि गत महिना भित्र गरिएको शारीरिक दण्डको दर कजाकिस्तानमा ३०%, युक्रेनमा ३२% रहेकोमा सर्बियामा ६३%, सिएरा लियोनमा ६४% र टोगोमा ७७% पुगेको रिपोर्टले देखाएको छ।
विद्यालयमा समेत स्थिति गम्भीर छ। अफ्रिका र मध्य अमेरिका क्षेत्रमा करिब ७०% बालबालिका ले विद्यालय जीवनमा शारीरिक दण्ड भोग्ने गरेको पाइएको छ भने पश्चिमी प्रशान्त क्षेत्रमा यो दर करिब २५% छ।
स्वास्थ्यमा दीर्घकालीन असर
डब्लुएचओं का स्वास्थ्य प्रवर्द्धन विभागका निर्देशक एटियेन क्रगका अनुसार, ‘अब पर्याप्त वैज्ञानिक प्रमाणले देखाइ सकेको छ कि शारीरिक दण्डले बालबालिकाको स्वास्थ्यमा धेरै जोखिम ल्याउँछ। यसले बालबालिकाको व्यवहार, विकास वा कल्याणमा कुनै लाभ गर्दैन, बरु हानिकारक मात्रै हुन्छ।’
रिपोर्टका अनुसार तत्काल चोटपटक मात्र नभई, शारीरिक दण्डले मस्तिष्कको संरचना र कार्यमा नकारात्मक परिवर्तन ल्याउने, तनाव हर्मोन बढी सक्रिय हुने, विकासमा पछि पर्ने, मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्ने जस्ता समस्या बढाउने प्रमाण भेटिएको छ।
शारीरिक दण्ड भोगेका बालबालिका विकासको क्रममा नपरेका साथी सँग तुलना गर्दा औसतमा २४% कम विकासमा पछाडि परेको पाइयो। त्यस्तै, उनीहरूमा चिन्ता, डिप्रेशन, आत्म सम्मान मा कमी, भावनात्मक अस्थिरता लगायतका समस्या बढी देखिने गरेका छन्। यी असरहरू वयस्क भए पछि पनि कायम रहन्छन्, जसमा मानसिक रोग, मदिरा वा अन्य पदार्थ दुरुपयोग, आत्महत्या गर्ने प्रयास सम्मको जोखिम रहने देखिन्छ।
सामाजिक असर पनि गम्भीर
बालबालिकामा आक्रामक व्यवहार, अध्ययनमा कमजोरी र भविष्यमा हिंसात्मक वा आपराधिक गतिविधिमा संलग्न हुने सम्भावना बढी हुन्छ। यसले हिंसालाई सामान्य मान्ने सामाजिक सोच लाई अझ बल पुर्याउने र पुस्तौं देखि पुस्ता सम्म हिंसाको चक्रलाई निरन्तरता दिने खतरा रहेको रिपोर्टले चेतावनी दिएको छ।
कानूनी मात्र होइन, सचेतना पनि आवश्यक
हाल धेरै देशले शारीरिक दण्डलाई कानूनी रूपमा प्रतिबन्ध लगाइ सके पनि यसको प्रयोग जारी रहनु र यसलाई ‘आवश्यक’ भन्ने सोच अझै बलियो हुनु, कानून मात्र पर्याप्त नभएको संकेत हो ।डब्ल्यूएचओ ले कानूनी उपाय सँगै अभिभावक, शिक्षक र हेरचाहकर्ता लाई सहयोग गर्ने, सकारात्मक र अहिंसात्मक अनुशासनका उपायहरू प्रोत्साहन गर्ने सचेतना अभियान अत्यावश्यक भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस