विपन्न नागरिक उपचार अब स्वास्थ्य बीमा मार्फत: छरिएका कार्यक्रम एकीकरणको सुरुवात

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न निकायबाट अलग अलग सञ्चालन हुँदै आएका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने प्रक्रिया सुरु गरेको छ। यस अन्तर्गत विपन्न नागरिक उपचार कार्यक्रमलाई अब स्वास्थ्य बीमा मार्फत सञ्चालन गरिने भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गर्दै एकीकृत प्रणालीको सुरुवात गरेका हुन्। उनले सरकार विपन्न नागरिकको स्वास्थ्य उपचारमा प्रतिबद्ध रहेको भन्दै स्वास्थ्य बीमालाई व्यवस्थित, पारदर्शी र पहुँच योग्य बनाउन यो कदम चालिएको बताए।
निर्देशिकाले विपन्न नागरिकका लागि ८ प्रकारका गम्भीर रोगको उपचार भुक्तानी अब स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरेको छ। सेवा लिन चाहनेले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनु पर्नेछ। साथै, अस्पताल सूचिकरण, अनुगमन, प्रतिवेदन व्यवस्थापन जस्ता कार्य भने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट हुनेछन्।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अब राज्यको लगानी प्रभावकारी रुपमा लक्षित नागरिक सम्म पुग्नेछ। विगतमा छरिएर रहेका योजना बीच समन्वय नहुँदा तथ्याङ्क स्पष्ट नहुने समस्या थियो भने नयाँ व्यवस्थाले दोहोरो दाबी रोक्दै खर्च पारदर्शी बनाउने छ।
मन्त्री पौडेलले गत वर्ष सार्वजनिक गरेको कार्ययोजनामा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता अनुसार कार्यदलको सिफारिस र सरोकारवालासँगको छलफल पछि निर्देशिका संशोधन गरिएको मन्त्रालयले जनाएको छ ।
यस सँगै विपन्न नागरिक उपचार कार्यक्रम स्वास्थ्य बीमाको छाता मुनि आएपछि राज्य कोषको प्रयोगमा वित्तीय अनुशासन, जवाफ देहिता र सुशासनको बलियो आधार कायम हुने मन्त्रालय ले जनाएको छ ।
बीमामार्फत उपलब्ध सुविधा
- मिर्गौला रोग: हेमोडायलाइसिस निःशुल्क,
मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य बीमा र विपन्न सुविधा सहित कुल ७ लाख ५० हजार, मासिक ५ हजार जीवन निर्वाह भत्ता। - ८ प्रकारका कडा रोग (मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया): ३ लाख सम्मको उपचार सुविधा।
- मुटुको भल्भ सर्जरी: १५ वर्षमुनि र ७५ वर्षमाथिका बिरामीका लागि गंगालाल र मनमोहन अस्पतालमार्फत निशुल्क अपरेसन, बीमा मार्फत थप २ लाखसम्म सुविधा।
प्रतिक्रिया दिनुहोस