अनुसन्धान

अल्जाइमरको उपचार विकासमा सहयोगी बन्न सक्छन् बिरामी बिरालोहरू


डिमेन्सियाबाट ग्रस्त बिरालोहरूको मस्तिष्कमा त्यस्तै प्रकारका परिवर्तन देखिन्छन्, जसले मानिसमा हुने अल्जाइमर रोगसँग धेरै समानता राख्छ। यस्ता बिरालोको मस्तिष्कमा ‘एमाइलोइड बेटा’ नामक विषालु प्रोटिनको जमावट हुन्छ, जुन अल्जाइमर रोगको प्रमुख विशेषता मानिन्छ।

ब्रिटेनको एडिनबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार, डिमेन्सिया भएका बिरालोहरूको अध्ययन भविष्यमा मानिसको अल्जाइमर रोगको उपचार विकासमा उपयोगी हुन सक्छ। यो निष्कर्ष युरोपियन जर्नल अफ न्यूरोसाइन्स मा प्रकाशित भएको हो।

अध्ययन अनुसार, धेरै वृद्ध बिरालोहरूमा डिमेन्सिया विकसित हुन्छ, जसका कारण उनीहरूको व्यवहारमा परिवर्तन देखिन्छ । जस्तै लगातार म्याउँ गर्नु, भ्रमित हुनु, निद्रामा समस्या हुनु । यी सबै लक्षण मानिसको अल्जाइमर रोगसँग मिल्दो जुल्दो हुन्छ।

एडिनबर्ग विश्वविद्यालयको डिस्कभरी ब्रेन साइन्सेज सेन्टर का सहलेखक रोबर्ट आइ. म्याकगिचनका अनुसार, यी अध्ययनले स्पष्ट देखाएको छ कि ‘एमाइलोइड बेटा’ बिरालोमा उमेरसँग सम्बन्धित स्मरण शक्ति ह्रास र मस्तिष्कको कार्य क्षमता घटाउने प्रमुख कारण हुन सक्छ।

अनुसन्धान टोलीले विभिन्न उमेरका डिमेन्सिया लक्षण भएका २५ बिरालोको मस्तिष्क अध्ययन गर्दा, माइक्रोस्कोपी छविहरूमा विशेष गरी वृद्ध र बिरामी बिरालोको मस्तिष्क कोषहरू बीचको सम्बन्ध (सिन्याप्स) मा ‘एमाइलोइड बेटा प्रोटिन’को उच्च जमावट देखियो।

यी निष्कर्षले न केवल बिरालोमा डिमेन्सियाको समझ र उपचारमा सहयोग पुर्‍याउनेछन,  बरु भविष्यमा मानिसको अल्जाइमर रोगको उपचार विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!