बीपीकेआईएचएस का पूर्व विद्यार्थीहरूको पुनर्मिलन, सामाजिक उत्तरदायित्वमा पनि योगदान

धरान– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरानमा सन् २००० मा एमबिबिएस तथा बीडिएस संकायमा भर्ना भएका विद्यार्थीहरूको २५ औँ कलेज प्रवेश वर्षगाँठ ‘इथोस@२५: रिकनेक्टिङ विथ द रुट्स’ भन्ने नारा सहित भव्य रूपमा सम्पन्न भएको छ। पुनर्मिलन कार्यक्रममा सो सत्रमा भर्ना भएका ९५ जना विद्यार्थीहरू मध्ये ४९ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तत्कालीन उपकुलपति प्रा. डा. शेखर कोइरालाले प्रतिष्ठानलाई ‘सेन्टर अफ एक्सलेन्स’ को रुपमा स्थापित गर्ने लक्ष्य अनुसार देश तथा विदेशमा कार्यरत पूर्व विद्यार्थीहरू ले निरन्तर योगदान दिनुपर्नेमा जोड दिए ।
उनले प्रतिष्ठानबाट पाएको प्रारम्भिक शिक्षाले नै चिकित्सकको मार्गचित्र तयार गरेको भन्दै सबैको साझा कर्तव्यका रुपमा प्रतिष्ठानको उत्थानमा लाग्न आग्रह गरे ।
कार्यक्रममा प्रतिष्ठानका कार्यवहाक उपकुलपति प्रा.डा. संजीवकुमार शर्मा, वरिष्ठ चिकित्सकहरू प्रा.डा. चन्द्रशेखर अग्रवाल, प्रा.डा. नरेन्द्र भट्ट, प्रा.डा. सुधा अग्रवाल, प्रा.डा. जिपी रौनियार, तत्कालीन अस्पताल निर्देशक डा. नारायण कुमार लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक डा. बद्री चापागाईंले यो पुनर्मिलन केवल भावनात्मक पुनःसञ्चार मात्र नभई प्रतिष्ठान प्रति आभार व्यक्त गर्ने अवसर भएको बताउँदै, ‘प्रतिष्ठानले दिएका मूल्य, ज्ञान र सम्बन्धहरूले आज हामी जहाँ छौं, त्यसको आधार बनाएका छन्,’ भने ।
पुनर्मिलन कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै धरान–१५ स्थित श्री पूर्वाञ्चल ज्ञा नचक्षु विद्यालयलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको पानी प्रशोधन फिल्टर, ५०० लिटर क्षमताको स्टिल ट्यांकी र दुईवटा नर्सरी कक्षाको फ्लोरिङका लागि आवश्यक फोम तथा कार्पेट हस्तान्तरण गरिएको आयोजकहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस