चिकनगुनिया फैलिने खतरा बढ्दै : डब्लुएचओको चेतावनी सन २००५ जस्तो भयावह महामारी दोहोरिन सक्ने संकेत

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै एक गम्भीर चेतावनी जारी गर्दै चिकनगुनिया भाइरस फेरि तीव्र गतिमा फैलिन थालेको र यसले २००५ को जस्तै महामारी ल्याउन सक्ने खतरा औंल्याएको छ।
सन २००५ मा छिमेकी राष्ट्र भारत लगायत दक्षिण एसियाका विभिन्न मुलुकहरूमा यो रोगको व्यापक संक्रमण देखिएको थियो। अहिले फेरि त्यही अवस्था दोहोरिन सक्ने संकेत देखिएको डब्लुएचओले बताएको छ।
एकै पटक ५.६ अर्ब मानिस जोखिममा
डब्लुएचओ का मेडिकल अफिसर डायना रोजस अल्वारेजका अनुसार अहिले विश्वका ११९ देशमा करिब ५.६ अर्ब मानिस चिकनगुनिया भाइरसको जोखिममा छन्। उनले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘हामीलाई इतिहास दोहोरिने संकेत देखिएको छ। अहिले जुन क्षेत्रहरू बाट संक्रमण बढेको छ, ती २००४-०५ को जस्तै हुन्।’
संक्रमण फेरि तीव्र – प्रारम्भिक केसहरू
रियूनियन, मायोटे र मौरिसस जस्ता द्वीपमा हालै ठूलो संख्यामा संक्रमित भेटिएका छन्। रियूनियनमा त एक-तिहाइ जनसंख्या प्रभावित भइसकेको छ। यो भाइरस मेडागास्कर, सोमालिया र केन्यामा पनि फैलिसकेको छ भने दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा पनि संक्रमण तीव्र रूपमा बढिरहेको छ।
नेपाल सँग खुला बोर्डर भएको छिमेकी मुलुक भारतमा त महामारीको तह सम्म संक्रमण फैलिएको आशंका गरिएको छ, जुन यस क्षेत्रका लागि निकै चिन्ताजनक विषय हो।
युरोपमा पनि फैलिन थाल्यो चिकनगुनिया
पहिले उष्णकटिबंधीय क्षेत्रमा मात्र सीमित मानिएको चिकनगुनिया अब युरोप जस्ता गैर उष्ण क्षेत्रहरूमा पनि फैलिन थालेको छ। फ्रान्समा मे १ देखि ८०० भन्दा बढी आयातित केस देखिएका छन् भने दक्षिण फ्रान्सका केही क्षेत्रमा स्थानीय स्तरमा लामखुट्टे बाट संक्रमण पुष्टि भएको छ। गत साता इटालीमा पनि यस्तै एक केस पुष्टि भएको थियो।
चिकनगुनिया के हो ?
यो रोग मुख्यत: एडीस लामखुट्टे (एडिस एजिप्टी र एडिस एल्बोपिक्टस) बाट सर्ने गर्दछ। यी मच्छरहरू डेंगु र जिका सँग पनि सम्बन्धित हुन्छन्।
यस रोगका लक्षणहरूमा उच्च ज्वरो, जुन प्रायः जोर्नी दुखाइसँगै आउँछ। अन्य सामान्य लक्षण र लक्षणहरूमा मांसपेशी दुखाइ, टाउको दुखाइ, वाकवाकी, थकान र छालामा दागहरू समावेश छन्। जोर्नी दुखाइ प्रायः कमजोर पार्ने हुन्छ र सामान्यतया केही दिन सम्म रहन्छ तर लामो समय सम्म, हप्ता, महिना वा वर्षौंसम्म पनि रहन सक्छ। बच्चा, बृद्ध र दीर्घ रोग भएका व्यक्तिमा यसको असर गम्भीर हुन सक्छ।
बच्ने उपायहरू – औषधि छैन, सतर्कता नै उपाय
हालसम्म चिकनगुनिया भाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन। त्यसैले डब्लुएचओ ले व्यक्तिगत र सामूहिक सतर्कताको सुझाव दिएको छ।
सुरक्षाका उपाय
- लामखुट्टे भगाउने क्रिम वा स्प्रे प्रयोग गर्नुहोस्।
- लामो बाहुला भएका कपडा र पाइन्ट लगाउनुहोस्।
- झ्याल–ढोकामा जाली र घर भित्र मच्छरदानी प्रयोग गर्नुहोस्।
- घर वरिपरि पानी जम्न नदिनुहोस् (कूलर, गमला, टायर आदि)।
प्रतिक्रिया दिनुहोस