स्वास्थ्य मन्त्री प्रदिप पौडेलले सार्वजनिक गरे एक वर्षका प्रमुख उपलब्धिहरु

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेल ले आफ्नो पछिल्लो एक वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा गरेका सुधार र योजनाहरू सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् ।
स्वास्थ्य मन्त्री पौडेल द्वारा पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरण अनुसार अनुसार गत एक वर्षमा निम्न उपलब्धिहरू हासिल भएका छन् ।
५, १० र १५ शय्याका आधारभूत अस्पतालहरू देशका विभिन्न स्थानीय तहमा निर्माण र सञ्चालनमा ल्याइएका छन्। ११३ वटा अस्पताल निर्माण सम्पन्न भई ५५ वटा सञ्चालनको तयारीमा छन्। नयाँ वर्षमा थप २५० अस्पताल निर्माणको लक्ष्य लिइएको छ।
‘निरोगी नेपाल’ अभियान अन्तर्गत हरेक फागुनलाई नसर्ने रोग परीक्षण महिना घोषणा गरिएको छ। उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता रोगको पहिचानमा मद्दत पुग्ने विश्वास गरिएको छ।
एचपिभी खोप अभियान सफलतापूर्वक सम्पन्न गर्दै १०–१४ वर्षका १४ लाख ६२ हजार किशोरीहरू लाई निःशुल्क खोप प्रदान गरिएको छ।
स्वास्थ्य बीमा सुधार गर्दै बीमाको पहुँच, सेवा प्रक्रिया र दायरा विस्तार गरिएको छ। ८ प्रकारका गम्भीर रोगमा दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार व्यवस्था गरिएको छ।
क्यान्सर, मुटु र जलन उपचार सेवा सातै प्रदेशमा विस्तार गरिएको छ। १४ वर्ष मुनिका बालबालिका लाई क्यान्सर उपचार निःशुल्क प्रदान गरिएको छ।
निःशुल्क जीवन रक्षक औषधि वितरण सुरू गरिएको छ, जसले पक्षघात, सिकलसेल एनिमिया र हेमोफिलिया जस्ता रोग पीडितलाई राहत दिन्छ।
डेंगु नियन्त्रणको लागि ‘डेंगु चेतना महिना’ घोषणा गरिएको छ। ‘खोज र नष्ट गर’ कार्यक्रम मार्फत लामखुट्टेको स्रोत नष्ट गर्ने कार्य अघि बढाइएको छ।
विकेन्द्रीकृत विशेषज्ञ सेवा विस्तार हुँदै वीर, पाटन, बीपी, भरतपुर, भेरी, कोशी लगायतका अस्पतालमा विविध विशिष्ट सेवाहरू सुरु गरिएका छन्।
जनस्वास्थ्य कर्मचारीको परिचालन गर्दै हरेक पालिकामा जन स्वास्थ्य अधिकृत नियुक्त गर्ने तयारी गरिएको छ, जसले रोगको रोकथामदेखि महामारी नियन्त्रणसम्म भूमिका खेल्नेछन्।
स्वास्थ्य बीमा सुधार प्रस्ताव, ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन’ लगायत स्वास्थ्य सम्बन्धी १० वटा विधेयकको तयारी गरिएको छ।
स्वास्थ्य मन्त्रालयको यी पहल कदमी ले देशको सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप समावेशी, पहुँच योग्य र उत्तरदायी बनाउन मद्दत गर्ने स्वास्थ्य मन्त्री पौडेलले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस