देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द, समस्या समाधान नभए आन्दोलन थप सशक्त हुने चिकित्सक संघको चेतावनी

काठमाडौँ – नेपाल चिकित्सक संघले सरकारको उदासीनता र चिकित्सकमाथि बढ्दो दवावका कारण सोमबारदेखि देशभरका निजी तथा सरकारी स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ।
संघले उपभोक्ता अदालत लगायत विभिन्न विषय तथा चिकित्सक माथि बढ्दो आक्रमण, असुरक्षा र हतोत्साहजनक वातावरणका विरुद्ध दबाब दिन सेवा बन्दको निर्णय लिएको हो। संघले चेतावनी दिएको छ, यदि सरकारले शीघ्र समस्या समाधानतर्फ पहल नगरे आन्दोलनको स्वरूप अझ व्यापक र लामो बन्नेछ।
संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार, संघ दुई हप्ता देखि समाधानको अपेक्षामा संयमित भएर बसेको थियो, तर कुनै ठोस पहल नभएको हुँदा बाध्य भई यस्तो निर्णय लिएको हो। उनले आन्दोलनको सम्पूर्ण जिम्मेवारी सरकार र सम्बन्धित निकायको रहेको स्पष्ट पारे।
संघले आम नागरिकलाई परेको असुविधा प्रति गहिरो दुःख व्यक्त गर्दै जनताका लागि नै यो कदम चाल्नु परेको जनाएको छ।
चिकित्सक संघले सोमबार भित्र देश भरका शाखा कार्यालयहरूबाट चिकित्सकहरू को हस्ताक्षर सहित नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ। मंगलबार भने चिकित्सकहरूले आफ्नो काउन्सिल प्रमाणपत्र सिधै नेपाल मेडिकल काउन्सिल कार्यालयमा बुझाउने कार्यक्रम रहेको संघले जनाएको छ। संघले सरकारसँग तत्काल समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । देश भर १७००० डाक्टर नेपाल चिकित्सक संघको सदस्य छन ।
प्रतिक्रिया दिनुहोस