नेपालमै सञ्चालन हुने आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरीय डिजिटल तालिम


काठमाडौं – नेपालमा अब आँखा स्वास्थ्य सम्बन्धी उच्चस्तरीय डिजिटल तालिम सञ्चालन हुने भएको छ। नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेशनल बीच भएको सम्झौता अनुसार नेपाललाई आँखा उपचार तालिमको क्षेत्रीय हबका रूपमा विकास गरिनेछ।

यो तालिम परियोजनाको मुख्य उद्देश्य क्लिनिकल, पारामेडिक्स, व्यवस्थापन र प्रशासनिक क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष बनाउनु हो। तालिम बाट दक्ष जनशक्ति उत्पादन गरी आँखा स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्ने लक्ष्य लिइएको छ।

नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, भाषा र आर्थिक कारणले विदेश जान नसक्ने स्वास्थ्यकर्मीलाई लक्षित गर्दै डिजिटल माध्यमबाट तालिम उपलब्ध गराइनेछ। आवश्यकताअनुसार भविष्यमा अन्य देशका भाषामा पनि तालिम सञ्चालन गरिने योजना छ।

अर्विस इन्टरनेशनल इन्डियाका कन्ट्री डाइरेक्टर डा. ऋषिराज बोराहले भने, ‘नेपालले आँखा उपचार क्षेत्रमा हासिल गरेको प्रगति विश्वमै उदाहरणीय छ। अब विश्वस्तरका तालिम नेपालमै सञ्चालन गर्ने तयारीमा हामी सहकार्य गरिरहेका छौं।’

परियोजना अन्तर्गत हाल बिराटनगर आँखा अस्पतालमा अत्याधुनिक तालिम पूर्वाधार निर्माण भइ सकेको छ। यसमा सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल किट समावेश छन्। आगामी दिनमा भैरहवा स्थित श्री रणअम्बिका शाह आँखा अस्पतालमा पनि परियोजना विस्तार गरिनेछ।

परियोजना सुरु भए देखि २०२४ को अन्त्य सम्म नेपाल नेत्रज्योति संघले देश भर २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरू मार्फत ४ करोड ६८ लाख भन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको छ भने ५३ लाख भन्दा बढीको शल्यक्रिया सम्पन्न भइ सकेको छ।

संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार यो परियोजनाले नेपाल मात्र होइन, विश्वमा अन्धोपनाको निवारणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तालिमका विशेषताहरू

  • ब्लेन्डेड लर्निङ एप्रोच: सहभागिले तालिम भौतिक रूपमा उपस्थित भई वा अनलाइनमार्फत जहाँबाट पनि लिन सक्ने।
  • तालिम विषयहरू: मोतिबिन्दु, ऐन्टेरियर सेग्मेन्ट, भिट्रियो रेटिना, जलबिन्दु, अप्ट्रोमेट्री विज्ञान, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन, वेट ल्याब व्यवस्थापन आदि।
  • प्रविधि प्रयोग: हाइ-टेक रिमोट सर्जिकल किट र अर्विसको साइबर साइट प्रविधि प्रयोग गरिने।
  • समावेशी सहभागिता: नेपालका आँखा अस्पताल, मेडिकल कलेज, निजि र सरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू का साथै अन्तर्राष्ट्रिय सहभागिहरूलाई पनि अवसर खुला।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!