स्वास्थ्य जनशक्ति थपिने : वीरमा ७७७ गरी संघीय अस्पतालहरूमा २८०५ नयाँ दरबन्दीको तयारी

काठमाडौं – देश भरका संघीय अस्पतालहरूमा २८०५ स्वास्थ्यकर्मी नियुक्त गर्न सरकार तयार भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेका छन्।
स्वास्थ्य संस्थामा बिरामीको बढ्दो चापका कारण वर्षौँ देखि जनशक्ति अभाव भोगिरहेका संघीय अस्पतालहरू मा अब स्थायी दरबन्दी मार्फत जनशक्ति थप्ने तयारी गरिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री पौडेलको निर्देशनमा प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा बनाइएको आन्तरिक कार्यदलले ‘संगठन तथा व्यवस्थापन सर्भेक्षण’ प्रतिवेदन तयार पारेको छ। उक्त प्रतिवेदनले २,१०२ जना नयाँ जनशक्ति थप गर्नुपर्ने सिफारिस गरेको छ।
विशेष गरी स्वास्थ्य प्राविधिक जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै प्रतिवेदनमा प्रमुख संघीय अस्पतालहरूमा उल्लेख्य संख्यामा दरबन्दी सृजना गर्ने प्रस्ताव गरिएको छ।
मन्त्री पौडेलले यो सर्भेक्षण प्रतिवेदन स्वीकार गर्दै लामो समय देखि स्वास्थ्य संस्थामा जनशक्ति अभावकै कारण सेवा प्रभावित भएको र यस कदमबाट केही हदसम्म सुधार आउने विश्वास व्यक्त गरेका छन्।
‘यो प्रतिवेदन कार्यान्वयनले सरकारी अस्पतालहरूमा सेवा गुणस्तर सुधार गर्नुका साथै अस्थायी र करारमा कार्यरत जनशक्तिलाई स्थायीत्व दिन पनि सहयोग पुर्याउनेछ,’ मन्त्री पौडेलले बताए।
उनले हरेक वर्ष यस्ता सर्भेक्षण जारी रहने भएकाले स्वास्थ्य क्षेत्रको दीर्घकालीन जनशक्ति योजना निर्माणमा यो प्रक्रियाले सहयोग गर्ने उल्लेख गरे।
२०६६ साल पछि यति ठूलो स्तरको संगठन सर्भेक्षण पहिलो पटक भएको हो। यसबाट रिक्त दरबन्दी पूर्ति, सेवा विस्तार, र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कुन निकायमा कति जनशक्ति थपिने तयारी
- वीर अस्पताल: ७७७ जना
- ट्रमा सेन्टर (वीर अन्तर्गत): ९० जना
- कान्ति बाल अस्पताल: ७८ जना
- परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल: १७३ जना
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल: ३१७ जना
- कोशी अस्पताल: १७२ जना
- नारायणी अस्पताल: ३१८ जना
- भेरी अस्पताल: १७९ जना
- गजेन्द्र नारायण अस्पताल, राजविराज: १४४ जना
- भरतपुर अस्पताल, चितवन: ४६५ जना
- डडेलधुरा अस्पताल: ५२ जना
- औषधि व्यवस्था विभाग र प्रयोगशालाहरू: ४० जना
प्रतिक्रिया दिनुहोस