रौतहट काण्डमा सफाइ पाएर जेल मुक्त भएका नेता आफताब आलमलाई मस्तिष्क घात

काठमाडौं – रौतहटको इँटा भट्टा काण्डमा करिब ६ वर्ष जेल जीवन बिताएर गत बुधबार रिहा भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्क घात (स्ट्रोक) भएको छ। उनलाई काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना गरी उपचार थालिएको छ।
अस्पतालका एक चिकित्सकका अनुसार शुक्रबार बिहान घरमै उनलाई स्ट्रोकको लक्षण देखिएको थियो। बोली स्पष्ट नहुने जस्ता समस्या देखिए पछि परिवारले तत्काल अस्पताल पुर्याएको थियो।
उपचारमा संलग्न अर्का स्नायु शल्य चिकित्सकले बताए अनुसार आलमलाई एक्युट इस्केमिक स्ट्रोक भएको हो। समयमै थ्रोम्बोलाइटिक थेरापी अन्तर्गत टीपीए औषधि प्रयोग गर्दा स्वास्थ्यमा सुधार देखिएको छ। हाल उनी आईसीयूमा उपचाररत छन् र अवस्था स्थिर रहेको चिकित्सकहरूले जनाएका छन्।
आलमलाई पहिलो संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटमा भएको बम विस्फोट घटनामा घाइतेलाई इँटा भट्टामा जिउँदै हालिएको अभियोगमा पक्राउ गरिएको थियो।
सो मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि उनी गत बुधबार जेल मुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस