स्वास्थ्यको ९५ अर्ब ८१ करोडको बजेटमा के-के छ ?


काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु. ९५ अर्ब ८१ करोड विनियोजन गरिएको घोषणा गरेका छन्।

‘निरोगी नेपालः स्वस्थ नेपाली’ अभियान अन्तर्गत आम नागरिकका लागि सर्वसुलभ, निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बजेटमा उल्लेख छ।

नयाँ बजेटमा जीवनशैली परिवर्तन देखि लिएर अत्याधुनिक उपचार सेवा सम्मको दायरा समेटिएको छ। योग, ध्यान, स्वच्छ आहार र सकारात्मक सोचलाई जीवनशैली मा समावेश गर्दै निरोगी नेपाल निर्माण गरिने लक्ष्य राखिएको छ।

‘निरोगी नेपाल’ अभियान अन्तर्गत प्रस्तुत गरिएको यो बजेटले आधारभूत स्वास्थ्य सेवा, बीमा पहुँच, आधुनिक प्रविधि, अस्पताल पूर्वाधार र जनस्वास्थ्यका विविध पक्ष समेटेको छ।

बीमा कार्यक्रमको पुनर्संरचना

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्दै फरक – पोलिसी छनोटको सुविधा दिने तयारी गरिएको छ। बीमा सुविधाको दुरुपयोग रोक्न दोहोरोपनाको अन्त्य, चुहावट नियन्त्रण र सुशासन कायम गरिने जनाइएको छ।

बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित र विपन्न वर्गका लागि सुविधा निरन्तरता दिइनेछ। बीमा कार्यक्रमका लागि रु. १० अर्ब बजेट विनियोजन गरिएको छ।

नसर्ने रोग र विशिष्टीकृत सेवा विस्तार

मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर लगायतका नसर्ने रोगको स्क्रिनिङ्ग तथा उपचार सेवा सबै प्रदेशमा विस्तार गरिनेछ। दक्ष जनशक्ति र अत्याधुनिक उपकरण मार्फत सेवा प्रवाह बढाइने बताइएको छ। फागुन महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ्ग सञ्चालन गरिनेछ।

औषधी आपूर्ति र नियमन बलियो बनाइने

आधारभूत स्वास्थ्य केन्द्र तथा अस्पतालबाट निःशुल्क औषधीको आपूर्ति सुनिश्चित गर्न रु. २ अर्ब ६ करोड बजेट छुट्याइएको छ। वितरण अभिलेख अनलाइन मार्फत सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ। राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरी सबै प्रकारका औषधिको गुणस्तर परीक्षण गरिनेछ ।

संक्रामक रोग नियन्त्रण र स्वास्थ्य आपतकालीन तयारी

डेङ्गु लगायत कीटजन्य रोग नियन्त्रण, महामारी पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। सिकलसेल एनेमियाको निदान र उपचारमा नवीनतम प्रविधि प्रयोग गरिने बताइएको छ।

अस्पताल पूर्वाधारमा लगानी

देशभर निर्माणाधीन अस्पतालहरूको काम सम्पन्न गर्दै सेवा सञ्चालनमा ल्याइनेछ। वीर अस्पतालमा जलन उपचार कक्ष विस्तार, प्रत्येक प्रदेशमा जलन उपचार केन्द्र स्थापना र विभिन्न अस्पताललाई पुँजीगत अनुदान प्रदान गरिने भएको छ। अस्पताल पूर्वाधारका लागि रु. ११ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ ।

प्रविधिमैत्री स्वास्थ्य सेवा

स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन टेलिमेडिसिन तथा डिजिटल स्वास्थ्य सेवा विस्तार गरिनेछ। रोबोटिक प्रविधि र कृत्रिम बौद्धिकता को प्रयोग मार्फत अत्याधुनिक उपचार सेवा प्रवाह गरिने योजना छ।

विशेष समूह लक्षित कार्यक्रम

गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन, र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई रु. १३ अर्ब ८२ करोड बजेट छुट्याइएको छ। दुर्गम क्षेत्रका सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइनेछ।

बालिका लक्षित एचपीभी खोप तथा १४ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार कार्यक्रम अघि बढाइने छ। अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सबै प्रदेशमा सेवा सञ्चालन गरिनेछ।

मानसिक र स्नायु रोगमा विशेष ध्यान

मानसिक स्वास्थ्य सचेतना, परामर्श सेवा तथा लगनखेल स्थित मानसिक अस्पताल को क्षमता विस्तार गरिनेछ। केन्द्रीय अस्पतालमा मस्तिष्क, मेरूदण्ड तथा स्नायु रोग उपचारका लागि राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने योजना बजेटमा समावेश गरिएको छ।

वैकल्पिक उपचारको प्रवर्द्धन

आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, आम्ची लगायतका वैकल्पिक पद्धतिहरू लाई प्रवर्द्धन गरिनेछ। सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार तथा राष्ट्रिय आयुर्वेद पञ्चकर्म योग सेवा केन्द्र सञ्चालन गरिनेछ।

खाद्य सुरक्षा र वातावरण संरक्षणमा जोड

तरकारी, फलफूल, मासु लगायतका खाद्य वस्तुमा अनिवार्य विषादी परीक्षण गरिनेछ। विषादी परीक्षणका लागि थप जनशक्ति, उपकरण र मोबाइल टोली परिचालन गरिनेछ। प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि २०८२ मंसिर १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात र प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ।

शैक्षिक संस्थानहरू सञ्चालनमा

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!