नेपालमा पहिलो पटक ‘राष्ट्रिय फिल्ड इपिडेमियोलोजी सम्मेलन’ आयोजना हुने


काठमाडौं – नेपालमा पहिलो पटक ‘राष्ट्रिय फिल्ड इपिडेमियोलोजी सम्मेलन’ आयोजना हुने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालको सहयोगमा हुने उक्त सम्मेलन आगामी १२ र १३ असार २०८२ मा काठमाडौंमा सम्पन्न हुने कार्यक्रम रहेको छ।

नेपालमा हैजा, डेंगु, स्क्रब टाइफस, कोभिड -१९ लगायतका संक्रामक तथा किटजन्य रोगहरूको आवृत्ति पछिल्ला वर्षहरूमा बढ्दो क्रममा छ ।

यस्ता रोगहरूका प्रकोपले स्वास्थ्य प्रणालीमा गम्भीर असर पार्न थाले सँगै तत्कालीन अनुसन्धान, तथ्यमा आधारित प्रतिकार्य र नीतिगत समन्वयको आवश्यकता अझ बढेको छ। यही सन्दर्भमा सार्वजनिक स्वास्थ्य सुरक्षालाई सबल बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको इडिसीडीका निर्देशक डा. चन्द्रभाल झाले बताए ।

‘सबल स्वास्थ्यका लागि एकताः फिल्ड एपिडेमियोलोजी, निगरानी, र नीतिगत निर्देशन’, भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनले महामारी, प्रकोप तथा स्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणमा संलग्न सरोकारवाला निकायहरूलाई एउटै मञ्चमा ल्याउनेछ।

सम्मेलनमा केन्द्र, प्रदेश र स्थानीय तहका स्वास्थ्य अधिकारीहरू, नीति निर्माता, अनुसन्धानकर्ता, निजी तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रयोगशाला विज्ञ, सञ्चारकर्मी, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय साझेदारहरू गरी १५० देखि २०० जना सहभागी हुने अनुमान गरिएको समेत डा. झाले बताए।

दुई दिनसम्म चल्ने सम्मेलनमा उद्घाटन सत्र, विभिन्न प्राविधिक सत्रहरू, मौखिक तथा पोस्टर प्रस्तुति, प्यानल छलफल आदि समावेश गरिनेछ।

कार्यक्रममा फिल्ड एपिडेमियोलोजी, रोग निगरानी, प्रकोप अनुसन्धान, जोखिम सञ्चार, समुदाय संलग्नता, र नीति निर्माणका लागि नविनतम अभ्यासहरूबारे अनुभव र अध्ययनहरू साझा गरिनेछ।

सम्मेलनबाट प्रकोप नियन्त्रण र प्रतिक्रिया सम्बन्धी उत्कृष्ट अभ्यासहरूको पहिचान, स्रोत परिचालनका लागि प्राथमिकता निर्धारण, अनुसन्धान तथ्यहरूको संग्रह तथा प्रसार, र सरोकारवाला निकायहरूबीच सहकार्य र सञ्जाल सुदृढ हुने अपेक्षा गरिएको डा. झाले बताए ।

प्रस्तुति प्रस्ताव आह्वान

सम्मेलनका लागि ३१ मे २०२५ सम्म एब्स्ट्रयाक्ट (सारांश) पेश गर्न आह्वान गरिएको छ। स्वीकृत  एब्स्ट्रयाक्ट हरूको जानकारी १० जुन २०२५ मा दिइने आयोजकले जनाएको छ।

प्रस्तुतीका लागि प्रमुख विषयहरूमा संक्रामक रोग ईपिडेमियोलोजी, निगरानी प्रणाली, कीटजन्य तथा उपेक्षित उष्णदेशीय रोगहरू, एन्टिमाइक्रोबियल प्रतिरोध, जोखिम सञ्चार र विपद् व्यवस्थापन लगायत समावेश छन्।

प्रस्तुती सम्बन्धी निर्देशिका तथा विस्तृत विवरण सम्मेलनको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको समेत आयोजकले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!