विराटनगरमा डा. सुनिल शर्माको निवासमा विष थुक्ने दुर्लभ नाग भेटियो, उद्धारकर्तामाथि आक्रमण


विराटनगर – विरलै देखिने विषालु प्रजातिको सर्प ‘स्पिटिङ कोब्रा’ (विष थुक्ने गोमन) विराटनगरमा फेला परेको छ। विष परैबाट फाल्न सक्ने क्षमताका कारण यो सर्पलाई विशेष जोखिमपूर्ण मानिन्छ।

मंगलबार अपरान्ह, विराटनगर -४ स्थित नोबेल अस्पताल पछाडिको क्षेत्र, डा. सुनील शर्माको निवासमा उक्त सर्प देखिए पछि सर्प उद्धार टोली सक्रिय भएको थियो। उद्धारको क्रममा सर्पले टाढैबाट विष फाल्दा मोरङ महानगरपालिकाका उद्धारकर्मी शम्भु घिमिरेको शरीरमा विष परेको थियो।

घिमिरे लाई तत्कालै कोशी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा भर्ना गरियो। चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ र खतरा मुक्त रहेको जनाइएको छ।

विशेषज्ञहरूले बताएका छन् कि यस्तो प्रकारको सर्पको विष आँखा र अनुहारमा परेमा अस्थायी अन्धोपनदेखि स्थायी दृष्टि क्षति सम्मको असर पार्न सक्छ।

नेपालमा दुर्लभ मानिने ‘स्पिटिङ कोब्रा’ दक्षिण एसियामा पाइने एक विषालु जात हो, जसले सिकार वा खतरा महसुस गरेपछि परैबाट विष थुकेर आक्रमण गर्छ। प्रायः गर्मीयाममा यसको सक्रियता बढी देखिन्छ।

सर्प नियन्त्रणमा लिए पछि जिल्ला वन कार्यालय, मोरङमा बुझाइएको छ। यस घटना पछि मोरङ महानगरपालिकाको स्वास्थ्य महाशाखाले घर वरपर यस्ता सर्प देखिए तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न आम नागरिकलाई अनुरोध गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!