न्यूनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशमै अग्रस्थानमा

भरतपुर (चितवन) – न्यूनतम सेवा मापदण्ड कार्यक्रम अन्तर्गतको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयद्वारा गरिएको मूल्याङ्कनमा ८८ प्रतिशत अंक प्राप्त गर्दै भरतपुर अस्पतालले पहिलो स्थान हासिल गरेको हो।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. फणिन्द्र बरालका अनुसार देशभरका १५ संघीय अस्पतालमा गरिएको मूल्याङ्कनमा भरतपुर अस्पताल सबैभन्दा उत्कृष्ट देखिएको हो। अस्पतालले ‘ग्रिनजोन’ स्टिकर समेत प्राप्त गरेको छ, जुन ८५ प्रतिशतभन्दा बढी अंक ल्याउने अस्पताललाई मात्र प्रदान गरिन्छ।
डा. बरालका अनुसार भरतपुर अस्पताल नै यो वर्ष ‘ग्रिनजोन’ स्टिकर प्राप्त गर्ने एक मात्र अस्पताल हो। मूल्याङ्कनमा अस्पतालको सुशासन, व्यवस्थापन, चिकित्सकीय सेवा, फोहरमैला व्यवस्थापन लगायतका सहायक सेवाको समेत समावेश गरिएको थियो।
स्वास्थ्य मन्त्रालयले हरेक वर्ष यस्तो अनुगमन र मूल्याङ्कन गर्दै आएको छ। यस पटकको अनुगमन डा. प्रकाश वुढाथोकीको नेतृत्वमा सम्पन्न भएको थियो।
भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पौडेलले निरन्तर प्रयास र समर्पण कै कारण सकारात्मक नतिजा आएको बताए। ‘हामी सेवा सुधारका लागि लगातार क्रियाशील छौँ, अहिलेको नतिजा त्यसैको प्रमाण हो,’ उनले भने।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रदान गर्न सम्पूर्ण अस्पताल टिम प्रतिबद्ध रहेको बताए। ‘सिङ्गो टिम सेवा सुधारमा समर्पित छ, र त्यसको प्रतिफल यो सफलताका रूपमा देखिएको हो, उनले उल्लेख गरे।
मन्त्रालयको तथ्यांक अनुसार भरतपुर अस्पतालले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति गर्दै आएको छ। यस अन्तर्गत २०७८ सालमा – ५२ प्रतिशत, २०७९ सालमा – ६२ प्रतिशत, २०८० सालमा – ६४ प्रतिशत, २०८१ सालमा – ७७ प्रतिशत र २०८२ सालमा – ८८ प्रतिशत अङ्क प्राप्त गरेको हो।
देशको मध्यभागमा अवस्थित भरतपुर अस्पतालले विविध विशिष्ट सेवा प्रदान गर्दै आएको छ। यस उपलब्धिले संघीय अस्पतालहरूमाझ सेवाको गुणस्तर र प्रशासनिक सुधारको दिशामा भरतपुर अस्पताललाई उदाहरणीय बनाएको छ।
प्रतिक्रिया दिनुहोस